इस्लामाबाद । पाकिस्तानमा सक्रिय रहेर आतंकको खेल गर्दै आएको तहरिक ए तालिवान पाकिस्तान संग शान्ति वार्तामा कुनै सफलता हाँसिल हुन नसकेपछि पाकिस्तानी सेनाले सशक्त कदल उठाउने तयारीमा जुटेका छन् ।
पाकिस्तानमा आतंककारी घटना एवं आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबान विरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
पाकिस्तानी सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका थिए । यद्यपि उक्त युद्धविरामको आडमा तालिबानका लडाकुहरुले मुलुकका थप भूभागमा सक्रियता देखाउन थालेपछि पाकिस्तानी सेना चिढिएको बताइएको छ ।
‘सैन्य कारवाहीको तयारी कायम गर्न र प्रति आतंकवादी अभियानका लागि खासगरी खैबर पख्तुनख्वा र बलोचिस्तानमा प्रयास जारी नै रहनुपर्छ ।’ पाकिस्तानी सेनाप्रमुख कमर जावेद बाजवालाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशति हुने डन अखबारले जनाएको छ ।
उक्त अखबारका अनुसार केही समय अघि मात्रै मुलुकको खैबर पख्तुनख्वा र बलुचिस्तानमा तालिबानका लडाकुहरुको सक्रियता देखिएको थियो । पाकिस्तानी सेनाले तालिबानबाट मुक्त गरेको भनिएको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका विभिन्न स्थानहरु तालिबानको कब्जामा रहेको बताइएको छ ।
लडाकुहरुले स्वात जिल्लाको मत्ता क्षेत्रमा पहाडी इलाकाहरु कब्जा गरेसँगै स्थानीयहरु त्रसित बनेका छन् । तालिबानको सक्रियताका कारण सो क्षेत्रमा पर्यटन सँग सम्बन्धित गतिविधि पनि घट्दै जान थालेको बताइएका छन् ।