नयाँ दिल्ली । भुटानमा विदेशी मुद्राको सञ्चिती रकम घट्दै गएपछि आर्थिक संकट उत्पन्न हुने अवस्थामा पुगेको बताइएको छ ।
भारतीय आर्थिक अनलाइन समाचार साइट इकोनोमिक टाइम्सका अनुसार भुटानमा विदेशी मुद्राको सञ्चिती ९७ करोड अमेरिकी डलरमा सीमित भएको हो । गत बर्षको अन्त्यमा भुटानमा विदेशी मुद्राको सञ्चिती १ अर्ब ४६ करोड अमेरिकी डलर रहेका थिए । भुटानको वाह्य ऋण बढेर ३ अर्ब २० करोड पुगेका छन् ।
जसअनुसार भुटान संग अब १४ महिनाका लागि आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिती मात्रै रहेको छ । यद्यपी भुटानी अधिकारीहरुका अनुसार आर्थिक संकट नआओस भन्नका लागि विभिन्न सकारात्मक कदमहरु चालेको छ । भुटानले अत्यावश्यक कृषि र पर्यटनका लागि आवश्यक बाहेक सबै किसिमका सवारी आयातमा प्रतिबन्ध लगाएको छ । जलविद्युत् र पर्यटनमा आधारित भुटानको अर्थतन्त्र पछिल्लो समयमा धर्मराएको बताइन्छ ।
कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेका कारण यस्तो अवस्था आएको बताइएको छ । यसबाहेक चीनतर्फ भुटानको ब्यापार घाटा बढ्न थालेकाले पनि त्यहाँ विदेशी मुद्राको सञ्चतीमा दबाब उत्पन्न भएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
इकोनोमिक टाइम्सका अनुसार सन् २०२१ मा भुटानले १० करोड डलर बराबरको सामान आयात गरेको थियो । तर, सन् २०२२ को प्रारम्भीक दुई त्रैमासिकमा भुटानले चीनबाट १३ करोड बराबरको सामान आयात गरिसकेको छ ।