असोज १ गते अर्थात आश्वीन सक्रान्तिका दिन विश्वकर्मा पुजाको रुपमा विश्वकर्मा भगवानलाई पुजा आजा गरेर धुमधामका साथ हिन्दुधर्मावलम्बीहरु मनाउने गरेका छन् । नेपाल भारत सहितका विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दुहरु आजका दिनमा विभिन्न कलकारखानामा विश्वकर्मा भगवान मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । माटो वा चीजबाट बनाइएको विश्वकर्माको मूर्ति पुजा सकेपछि नजिकको नदी ताल लगायतका स्थानहरुमा लगि सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारिकापुरी बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रमा उल्लेख गरिएको छ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने गरिन्छ।
यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ ।