तराई टप संवाददाता
रौतहट, २८ फागुन । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर बजारमा विहिवार राति मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
माधव नारायण नगरपालिका वडा नम्वर ६ माधोपुर बजारमा राति ११.४५ बजेको समयमा विआर ३०एस ९२७० नम्वरको भारतीय नम्वरको मोटरसाइकलले पैदल हिडिरहेका ४५ बर्षिय यात्री छोेटेलाल पण्डितलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका पण्डितलाई गरुडा नपा स्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारको क्रममा राति १ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
मोटरसाइकल चलाइरहेका माधवनारायण नपा ९ का २६ बर्षिय विशाल सहनीको हात, खुटा र आँखामा चोट लागेको हुँदा गरुडामै रहेको हेल्थ ल्याण्ड अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवी राबलले जानकारी दिए ।
मृतक पण्डितको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि परिवारजनलाई शव हस्तान्तरण गरिएको तथा दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको बताए ।
शिवरात्री पर्वको मध्य नजर राख्दै जिल्लाको विभिन्न स्थानहरुमा विष्णु पुराण, मधानी महायज्ञ, रामनाम यज्ञ सहितको विभिन्न धार्मिक अनुष्ठान भईरहेको स्थानहरुमा मेला, नाँच तमासा लगायतको कार्यक्रम भईरहदा रातिको समयमा मोटरसाइकलमा ३ देखि ४ जना युवाहरु बसेर हाइस्पीड चलाउदा हिजो मात्रै रौतहट जिल्लामा १५ वटा मोटरसाइकल दुर्घटनाहरु भएको छ । मेलामा भोजपुरी, नेपाली, हिन्दी कलाकारहरु ल्याएर अनावश्यक भिडभाव गराउने सोही आडमा लाइसेन्स नभएका युवाहरु मदिरा सेवन गरी राति र दिउसोको समयमा सवारी ऐनको धज्जी उडाउदै चलाउदा दुर्घटना यतिवेला रौतहटमा बढेको बताइएको छ ।
विभिन्न धामिर्क अनुष्ठानमा आयोजकहरुद्धारा राखिने मेलामा नाँच तमाशाहरु अवलोकन गर्न जाने युवाहरु मोटरसाइकलबाट जाने गरेको हुँदा ति युवाहरु सवारी अनुमती पत्र नलिइकन अत्याधिक संख्यामा सवारी साधनहरु गुडिरहेको एवं नियम विपरित सवारी साधन चलाउदा दुर्घटना बढ्दै गएको प्रति चिन्तित बन्दै रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले विभिन्न युनिटहरुलाई कडाईका साथ प्रयोग भएका सवारी साधनको कागजात, सवारी अनुमती पत्र अनिवार्य रुपमा चेकजाँच गर्न निर्देशन दिइसकेको बताए । सवारी ऐन विपरित सवारी साधन चलाउनेलाई कारवाही हुने स्पष्ट पार्दै विहिवार मात्रै जिल्लामा १५ वटा सडक दुर्घटना भएको त्यसमा अधिकाँश मोटरसाइकल दुर्घटना भएको हुनाले आज देखि जिल्लाभरी कडाई गरिएको जानकारी तराई टपलाई लिए ।