एमालेको महत्वपूर्ण निर्णय वाग्मती प्रदेश इन्चार्जबाट शाक्य बाहिरियो वादलको इन्ट्री

   २८ फाल्गुन २०७७, शुक्रबार १७:०२  

तराई टप संवाददाता
काठमाण्डौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार महत्वपूर्ण निर्णयहरु गरेका छन् ।
एमालेको आज बसेको बैठकमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका हुन् । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज बनाइएका छन् । २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्ष पदमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बनेको थियो । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसबाट संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।
त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेल बाहेक अरु पदाधिकारी नरहने निर्णय गरे । साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिए भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए ।
बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै