रौतहट, ९ असोज । शैक्षिक भ्रमणको लागि बजेट नछुट्याउदा शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले बौधीमाई नगरपालिकामा तोडफोड गर्दै लाखौंको क्षति पुर्याएका छन् ।
शंकर माविका विद्यार्थीहरुको समूहले पटक पटक शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदीप यादवले अटेर गरेकोमा आक्रोशित बन्दै नगरपालिका कार्यालयमा तोडफोड गरी ठूलो क्षति पुर्याएका हुन् ।
आक्रोशित विद्यार्थीहरुले नगरपालिकामा राखिएको नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडी समेत तोडफोड गरेर क्षति पुर्याएको छ भने विद्यार्थीहरुको जथाभावी ढुंगा प्रहारबाट गाडीका सिसाहरु सबै फुटेका छन् भने विभिन्न भागहरु कुचिएको छ । आक्रमणबाट नगरपालिकाका झ्यालका सिसाहरु, नगरपालिका परिसरमा राखिएका जेसिभि मेशिन, मोटरसाइकल लगायतका सवारी साधनहरु पनि तोडफोड भएको नगरपालिकाले जनाएको छ ।
प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
उनले विद्यार्थीको आक्रमणबाट बंकुल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल कुमार यादव तथा सशस्त्र प्रहरीका ३ जना सुरक्षाकर्मी घाइते भएको बताए । त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
तोडफोडमा संलग्न मध्ये प्रहरीले स्कूल ड्रेस लगाएको एक जना गरेर चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिदै डिएसपी मल्लले अहिले सामान्य हुँदै गएको र सो स्थान वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
नगर प्रमुख यादवले विद्यार्थीहरुको आडमा नेकपा एमाले र जसपाको उच्श्रंखल तत्वहरु एक्कासी १२ बजे कार्यालयमा लाठी भाठा, ढुंगा मुढा गर्दै आएको बताए । मलाई ज्यान मार्ने उद्देश्यबाट आएपनि बंकुलको प्रहरी सहायक निरीक्षक सुनिल यादवले मलाई जागाएको बताउदै उनीहरुको आक्रमणबाट नगरपालिकालाई ३ देखि ४ करोड सम्मको क्षति पुगेको नगर प्रमुख यादवले बताए ।
शैक्षिक भ्रमणको कुरा आइरहेछ नी मेयर साहेव प्रश्न सोध्दा उनले हो शंकर मावी सरमुजवाको विद्यार्थीहरु संग गएको शुक्रवार विद्यालयमै कुरा गरेर अहिले नगरअधिवेशन भएको छैन, अधिवेशनमा शैक्षिक भ्रमणको लागि बजेट छुट्याउने छु भन्दा विद्यार्थीहरु शान्त भएका थिए तर आज एक्काज अपराधिक राजनीति पृष्ठभुमिबाट ओतप्रोत भएका एमाले र जसपाको घुसपैठीहरु संगलग्न भई नगरपालिकालाई ठूलो क्षति पुर्याएको हुँदा तिनीहरुको पहिचान गरेर ऐन कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरे ।