असोज १२ देखि आचारसंहिता लागु गर्ने तयारीमा जुटे निर्वाचन आयोग

   ११ आश्विन २०७९, मंगलवार १५:३९  

काठमाडौं, ११ असोज । निर्वाचन आयोगले मंसिर ४ मा हुने पदेश र प्रतिनिधि सभा निर्वाचनको लागि भोली बुधवार देखि आचारसंहिता लागु गर्ने भएको छ ।
निर्वाचन आयोगका अनुसार १ महिना अघि राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहितालाई असोज १२ गतेबाट लागु हुने तयारी थालिएको बुझिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल राजनीतिक दलहरूले प्रतिबद्धता जनाइसकेका कारण अब आचारसंहिता कार्यान्वयनमा लैजाने चरणमा निर्वाचन आयोग पुगेको बताए । १२ असोजवाट आचारसंहिता कार्यान्वयनमा लैजाने आयोगको प्रस्तावमा दलहरूले समेत सहमति जनाइसकेका छन् ।
तर दलहरूले चुनाव प्रचारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने र प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने व्यवस्था प्रति भने आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा समेतले निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रबाहेकमा प्रचारमा जान नपाइने आचारसंहिताको व्यवस्थामा पुनर्विचार गर्न आग्रह गरेपछि आयुक्तहरू बीच आन्तरिक छलफल भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आइतबार मात्र प्रधानमन्त्री देउवा देखि लिएर दलका नेतालाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । आयोगले तयार पारेको आचारसंहितामा उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खर्च प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । साथै २५ हजारभन्दा बढी सहयोग लिँदा बैंक मार्फत नै लिनुपर्ने भनिएको छ ।
आगामी निर्वाचनमा दलहरूले उम्मेदवारी मनोनयनका लागि जाँदा २५ भन्दा बढीलाई जुलुसमा सहभागी गराउन नपाउने व्यवस्था छ । त्यस्तै, आयोगले राष्ट्रिय झन्डा प्रयोगको विषयलाई स्पष्ट पार्दै जुलुस, आमसभा र घरदैलो लगायतमा जाँदा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै