रौतहट, १४ असोज । नेपालीहरुको महानचाँड पर्व दशैंको मुखमा पनि पाँच वटा स्थानीय तहमा कर्मचारीहरु तलव खान पाएनन् ।
नियमित रुपमा गरिनुपर्ने नगरअधिवशन तथा गाउँ अधिवेशन गराउन नसक्दा रौतहटको फतुवा विजयपुर, बौधीमाई र गुजरा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको कर्मचारीहरु दशैंको मुखमा पनि तलव भत्ता खान पाएनन् ।
नेपाल सरकारको स्थानीय तह शासन ऐन अनुसार आर्थिक बर्ष सकिनु अगावै असार १० गते भित्र अधिवेशन गरेर बजेट तथा नितिकार्यक्रम पास गरेर प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिएर बजेट निकासा कोष तथा लेखा नियन्त्रणक कार्यालयबाट लिनुपर्ने प्रावधान रहेको छ । तर जिल्लाको पाँच वटा पालिकामा विभिन्न कारणवस अधिवेशन हुन नसक्दा उक्त समस्या उत्पन्न भएको सम्बन्धित पालिकाबाट बुझिएको छ ।
कर्मचारीहरुको तलव भत्ता मात्रै नभई उक्त पालिकाहरुमा जेष्ठ नागरिक लगायतका विभिन्न शिर्षकमा समाजिक सुरक्षा भत्ता पाउनेहरु र बालपोषण रकम समेत निकासा नहुँदा उक्त सुविधा लिनबाट बञ्चित भएको बताइएका छन् । दशैंको समयमा जेष्ठ नागरिकहरु राज्यले दिएको सुविधा लिएर आफनो गुजारा गर्नेहरु समेत पालिकाको किचलो राजनीतिको शिकार बनेको उनीहरु पालिकाप्रति गुनासो गरे ।
चालु आर्थिक बर्षको साउन महिना देखि तलवभत्ता खान नपाएको कर्मचारीहरुलाई दशैंको मुखमा कन्तविजोग भएको छ । पर्व त्योहारमा घरका सदस्यहरुको आवश्यक्ता अव कसरी पुरा गर्ने चिन्ता यतिखेर दुर्गा भगवतीको कर्मचारीलाई सताएको छ । छोराछोरीलाई हस्टेल खर्च तिर्नुपर्ने, कपडाहरु किनमेल गर्नुपर्ने लगायतका विविध आवश्यक्ताहरु सबै अधुरै रहेको कर्मचारीहरु सामुहिक रुपमा आफनो पिडा तराई टप संग पोखेका छन् ।
दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गाउँ सभा नभएको अवस्थामा कर्मचारीहरुलाई तलवभत्ता खुवाउनका लागि बोर्डको बैठकबाट निर्णय गरेर दिदा तलव भत्ता तथा सामाजिक सुरक्षाको रकम निकासा हुने थिए तर बोर्डको पूर्ण बैठक नहुँदा पर्वको समयमा तलव भत्ताको साथै सासुको रकम निकासा हुन नसकेको बताए ।
यसैगरी यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले गाउँपालिका प्रमुखको चरम लापरवाहीको कारण गाउँ अधिवेशन हुन सकेन । विपक्षीहरु गाउँ सभा गर्न पटक पटक दवाव दिदा गापा प्रमुख अधिवेशन नगराउदा पालिकामा रहेका कर्मचारीहरु साउन महिना देखि तलवभत्ता पाउन सकेन त्यती मात्रै नभई समाजिक सुरक्षा र बालपोषण भत्ता समेतको निकास नहुँदा लक्ष्तिवर्गलाई पर्वको समयमा निकै सास्ती खेप्नुपरेको गुनासो गरे ।
प्रमुख कोष नियन्त्रण अर्जुन बरालले १८ पालिका मध्ये १३ पालिकाले बजेट निकासा गरेर लगेको तर बौधीमाई, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको अधिवेशन नहुँदा गत साउन महिना देखि कर्मचारीहरुको तलव भत्ता सहित बालपोषण र सासुको रकम निकासा हुनसकेन् । पर्व त्यौहारमा पालिकाहरुमा कार्यरत कर्मचारीहरु तलवभत्ता पाउनबाट बंचित हुनुपरेको बताए ।