रौतहट र सर्लाही जिल्लालाई जोड्न बैकल्पिक सडकको निर्माण युद्ध स्तरमा

   ३१ भाद्र २०७७, बुधबार १४:२२  

रौतहट, ३१ भदौं । स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न सुविधा होस भन्ने अभिप्रयाबाट रौतहटको धरमपुर र सर्लाहीको महिनाथपुरलाई जोड्न वैकल्पिक सडकको निर्माण कार्य सुरु गरिएको छ ।
रौतहटको गढिमाई नगरपालिकाको पहलमा सर्लाही जिल्लालाई जोड्न वैकल्पिक सडक बन्ने कार्य सुरु गरिएको हो ।
गढिमाई नगरपालिका तथा सर्लाहीको धनकौल गाउँपालिकालाई जोड्ने गरी सडक निर्माणको कार्य थालनी गरिएका छन् । दुई जिल्लाको सिमाना पर्ने बाग्मति नदिमा करिव एक बर्ष अघि नै पुलको निर्माण कार्य पुरा भएपनि सडक अभावका कारण बर्षा याममा सञ्चालन हुन नसकेको पछि संघिय सरकार बाटो बनाउने तर्फ अग्रसर नहुँदा गढीमाई नगरपालिकाको लगानीमा वैकल्पिक सडकको निर्माण कार्य संचालनमा ल्याएका छन् ।
गढिमाई नगरपालिका वडा नम्वर ६ धरमपुर गाउँ छेउमै रहेको वागमती नदीमा बनेको पुल पारी करिव तिन किलोमिटर बागमतीको वगरमा बाटोको अभावमा पुल भएर आवतजावत गर्ने यात्रुहरुलाई निकै सास्ती खेप्नुपर्ने अवस्थालाई मध्यनजर राख्दै अस्थायी रुपमा भएपनि वैकल्पिक रुपमा बाटोको निर्माण गरेर जनतालाई उक्त दुख कष्ट झेल्नेबाट मुक्ति दिलाउनका लागि बाटो बनाउन लागिएको नगरप्रमुख श्यामप्रसाद यादवले बताए ।
बैकल्पिक सडक निर्माण भएपछि रौतहट र सर्लाही तर्फ जाने यात्रुहरुलाई आवतजावतमा सहज हुने उनको भनाई छ । वर्षातको समयमा सडक अभावका कारण साईकल र मोटरसाइकल आवतजावत गर्न पनि निकै समस्या भएपछि स्थानीय बासिन्दाहरुको आग्रहमा निर्माण कार्य सुरु गरिएको प्रष्ट मेयर यादवले पारे ।
पूर्वमा सर्लाही जिल्ला भएपनि पुल निर्माण भएको स्थानदेखि रौतहट नै पर्ने भएको हुँनाले पूर्व पनि सडकको निर्माण गरेको गढिमाई नगरपालिकाले जनाएको छ । यसअघि नै नगरपालिकाले पुलसम्म पुग्ने सडक निर्माण गरिसकेको भएपनि पुर्वपट्टिको सडक नहुँदा आवतजावत कमि आएको थियो ।
सर्लाहीको धनकौल गाउँपालिका संग समन्वय गरेर सडक निर्माणको कार्य गरिएको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले बताए । सो सडक निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउदै धर्मपुर – महिनाथपुरको बिचमा सडक निर्माण भइसकेको पुललाई पूर्ण सञ्चालनमा ल्याउन निर्माण कार्य युद्ध स्तरमा भईरहेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै