तराई टप संवाददाता
काठमाडौं, ४ चैत । नेपाल सरकारले संघिय राजधानी काठमाडौंको चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्ड विस्तारको लागि टोली पठाउन चीन सरकार संग आग्रह गरेको छ ।
चक्रपथ निर्माण गर्नका लागि पूर्व तयारीहरुको काम लगभग सकिएको र मुआब्जा वितरणको प्रक्रिया पनि सुरु भइरहेकोमा काम सुरु गर्न सकिने भन्दै अर्थ मन्त्रालयले चीन सरकारलाई परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाएर काम सुचारु गराउन आग्रह गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार अनुदानमा बन्ने सो सडक खण्डको काम अघि बढाउन चीनलाई आग्रह गरेको हो । ११.६ किलोमिटरको सडक खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गरिदिने योजना छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा छिट्टै चीनको टोली निर्माण सुरु गर्ने गरी नेपाल आउने अपेक्षा गरिएको बताए । जग्गाको मुआब्जा वितरण गर्ने गरी सूचना प्रकाशित भइसकेको हुनाले अब चिनियाँ पक्षले काम थालेमा कुनै अवरोध नहुने बताए ।
चक्रपथको उक्त सडक खण्डमा रुख, पोल हटाउने काम लगभग सकिएको छ । थापाका अनुसार गोगंबुको आकाशे पुल र अन्य अस्थायी संरचनाहरु हटाइसकिएको छ ।
चीनले तयार गरेको यो खण्डको इन्जिनियरिङ डिजाइन अहिले सम्म सार्वजनिक भने गरिएको छैन । चीनले बनाएको डिजाइन स्वीकृत भएपछि मात्रै चिनियाँ ठेकदार कम्पनीले काम थाल्न सक्ने उनले स्पष्ट पारे ।