बालुवाटार जान हिडेका नेपाल पक्षका साँसदहरु बाटो बाटै फर्किएर सानेपा पुगे

तराई टप संवाददाता
काठमाण्डौ, ५ चैत । नेकपा एमाले को नेपाल समुहका साँसदहरु बालुवाटर वैठकमा नजाने भएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडिसकेका थिए तर विच बाटोबाट बालुवाटार नजाने अडान राख्दै पुन सानेपा फर्किएको हो ।
‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं तर फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले बताए । उनका अनुसार स्थायी कमिटी बाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भए अनुसार हामी त्यस जान लागेका थियौं ।
तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने । छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्ष सहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् । ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्ने बारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु सानेपा स्थित हेरिटेज गार्डेन पुगेकै थिएनन् ।
स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरु सहित थोरै सांसदहरु बीच भएको छलफल पछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।
यसैविच नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समुहको सानेपा स्थित हेरिटेज गार्डेनमा भईरहेको राष्ट्रिय भेलाको वैठकमा रौतहटबाट पनि प्रतिनिधित्व गरेर नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् । साही क्रममा युवा नेता एवं समाजसेवी शम्भु शाह, सहितका नेताहरु राष्ट्रिय भेलामा यतिखेर उपस्थित रहेको छ ।