प्रभातकुमार झा—प्रेमचन्द्र झा
रौतहट, २८ असोज । नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन तथा निकासी कार्य रोक्का राख्न आदेश सामुदायिक वन उपभोक्ता समुह गैडाटारका पदाधिकारीहरुले चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय चन्द्रपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
अत्यन्तै संवेदनशिल क्षेत्रको रुपमा मानिएको चुरेफेदीका नदीहरुबाट नदीजन्य बस्तुहरु अबैध तवरबाट उत्खनन गरेर भण्डारण गरिने कार्यबाट दक्षिणका बस्तीहरु जोखिममा परेर मरुभुमिमा रुपान्तरितहरु खतरा वढ्दै गएको भन्दै आदेश सामुदायिक वनका पदाधिकारीहरुले चन्द्रपुर नगरपालिकाको कार्यालय ज्ञापन पत्र बुझाएर उक्त अबैध कार्य तुरुन्तै रोक्न माग गरेका हुन् ।
चुरे क्षेत्र र वन क्षेत्रमा नदी जन्य पदार्थका तस्कर माफियाहरुको रजगज, सम्बध निकाय चिर निन्द्रामा, सर्वसाधारण पस्त, माफिया मस्त
नेपाल सरकारले अति संवेदनशिल विषयमा संरक्षणको लागि विशेष महत्व दिएर राखेको चुरे क्षेत्रमा अहिले तस्कर र माफियाहरुको रजगज हुँदा नेपाल सरकारको ऐन, नियम तथा नीतिहरुलाई चुनौती दिर्दै छिमेकी जिल्ला मकवानपुर हुँदै चन्द्रपुर नगरपालिका क्षेत्र भित्र चुरे पवर्त नदीहरु चाँदी, सुले खोला र हेले खोलाबाट अबैध तवरबाट बुश गिटी र बालुवा उत्खनन गरेर भण्डारण गरिने कार्य युद्धस्तरमा भइरहेको तथा सोको निकासी गर्ने कार्य पनि हुँदै आएपनि नगरपालिकाको कार्यालय र सम्बन्धित नियमनकारी निकायहरु मुकदर्शंक बनेर बसेको देख्दा हामीलाई आश्चर्य चकित लागेको आदेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चतुरबहादुर मोक्तानले दुखेसो पोख्दै ज्ञापन पत्र बुझाएका छन् ।
चन्द्रपर नगर कार्यपालिकाको कार्यालय र सम्बन्धित नियमनकारी निकायहरु मुकदर्शक भएर बस्दा नगरपालिकाको वडा नं ३ स्थित गैडाटार जाने सडकमा निर्माणाधिन पक्कि पुल देखि उत्तरतर्फ कालापानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्र, तिलेश्वर सामुदायिक वन क्षेत्र, सोनी सामुदायिक वन क्षेत्रको भू भाग र आदर्श सामुदायिक वन क्षेत्रको भू भाग सम्म अहिले पनि दैनिक रुपमा सयौको संख्यामा ट्रेक्टरहरु प्रयोग गरी नदीजन्य पदार्थ अनधिकृत रुपमा भण्डारन भईरहेको देख्दा बाध्य भएर नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको मोक्तानले भने ।
उक्त खोलाहरुको वातावरणीय प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परिक्षण नभएको, नगरपालिका लगायत सम्बन्धित निकायबाट आधिकारीक रुपमा ठेक्का बन्दोवस्त समेत नलगाएको अवस्थामा गैर कानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन, निकासी र भण्डारन भइरहेकाले चाँदी नदीमा निर्माण भएको बाँधमा क्षेती पुग्ने, खोलाको धार परिवर्तन भई गैडाटार गाउँ तथा सो क्षेत्रका खेतीयोग्य जमीनहरु कटानमा पर्ने र निर्माणाधिन पुललाई समेत असर पुग्ने अवस्था श्रृजना भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
खोलाहरुको क्षेत्र भित्र पर्ने माथि उल्लेखित सामुदायिक वन क्षेत्रलाई समेत असर पर्ने भएकामा उक्त उत्खनन कार्य तत्काल रोक्नका लागि यो ज्ञापन पत्र पेश गरेका छौ । यस ज्ञापन पत्रको आधारमा सम्बन्धित स्थानको स्थलगत निरिक्षण गरी तत्काल अवैध उत्खनन कार्य नरोकेमा वाध्य भई कानूनी उपचारमा जाने व्यहोरा समेत आदेश सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् ।
चन्द्रपुर नगरकार्य पालिकामा ज्ञापन पत्रको बोधार्थ इलाका प्रशासन कार्यालय चन्द्रपुर, इलाका प्रहरी कार्यालय चन्द्रपुर, जिल्ला वन कार्यालय चन्द्रपुर, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला समन्वय समितिको कार्यालय रौतहटलाई जानकारी गराइएको उक्त उपभोक्ता समितिले जनाएको छ ।
आदेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चतुरबहादुर मोक्तानले ज्ञापन पत्र बुझाएको एक साता वितिसक्दा पनि उत्खनन, भण्डारण, निकासी एवं दोहन कार्य बन्द नभएको तराई टप संग कुरा गर्दै उनले गम्भीर आरोप लगाए ।
चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नदी जन्य पदार्थको जथाभावी उत्खनन एवं भण्डारण रोक्का राख्नुपर्ने भन्दै आदेश सामुदायिक वन उपभोक्ता समुहले ज्ञापन पत्र यस कार्यालयमा बुझाएको स्वीकार्दै त्यसको लागि इलाका प्रहरी कार्यालयमा पत्रचार गरिसकेको जानकारी दिए । चन्द्रपुर नपाबाट ठेक्का बन्दोबस्तको कार्य मिलाउन वातावरणीय परिक्षण कार्य अन्तिम चरणमा रहेको हुदा अहिले सम्म ठेक्का लाग्न नसकेको स्पष्ट पारे । अबैध रुपमा निकासी गर्ने १५ वटा ट्रेक्टरलाई कारवाही गरिएको बताए ।
जिल्ला डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख अधिकृत सुनिलकुमार कर्णले राजमार्ग भन्दा उत्तर तर्फ राष्ट्रपति चुरे संरक्षण क्षेत्र तथा सामुदायिक वनको क्षेत्रमा पर्ने खोलाबाट कुनै किसिमको नदीजन्य पदार्थ संकलन, उत्खनन, घाटगद्दी गर्न नपाइने कानुनी प्रावधान रहेको भएपनि अनुगमन निरक्षण गर्दै जाँदा मैले पनि भण्डारण गरेको देखेको कुरा स्वीकार्य गरे । त्यस सम्बन्धमा जिल्ला समन्वय समितिको बैठकबाट ठोस निचोड निकालेर कारवाही प्रक्रियामा अघि बढ्ने बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आदेश सामुदायिक वन उपभोक्त समुह गैडाटार चन्द्रपुरका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय रौतहटमा जानकारी बोधार्थ दिएकै दिन प्रहरीलाई पत्राचार गरेर अबैध उत्खनन गर्नेहरुलाई समातेर सम्बध निकायमा कारवाहीको लागि पठाउने निर्देशन दिएको बताए । राष्ट्रपति चुरे संरक्षण क्षेत्र र वन क्षेत्रबाट उत्खनन गर्दा दुबै कार्यालयको विना स्वीकृतिबाट उत्खनन गर्न नपाईने स्पष्ट प्रावधान रहेको हुँदा सोको विपरित कार्य गर्नेहरु विरुद्ध कानुन बमोजिम दण्ड र कारवाही हुने स्पष्ट पारे ।