रौतहट, ३० असोज । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरलाई अश्लिल गाली गरेर म्यासेज पठाउने, ज्यान मार्ने धम्की दिने कार्य माथि नेपाल पत्रकार महासंघ रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सचिव नीजि भ्रमणको शिलशिलामा तेश्रो मुलुकमा गएको वेला विर्ताका लालबाबु साहको छोरा गौरव साहले सचिव ठाकुरलाई पटक पटक फोन गरेको तर फोन नउठेपछि उनका घरमा अश्लिल गाली ग्लौज गरेको म्यासेजहरु शनिवार साँझ ७ बजेको समयमा सेन्ड गरेर ज्यान मार्ने धम्की दिएपछि पारिवारका सदस्यहरु राति भरी आत्तिएर सुत्न पाएनन ।
विहान उक्त कुराको जानकारी घरबाट थाहा पाएपछि सचिव ठाकुरले रौतहट पत्रकार महासंघको ग्रुपमा अडियोहरु सेयर गरेपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले एक विज्ञप्ती जारी गर्दै त्यस्ता अश्लिल गाली र ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले अविलम्ब नियन्त्रणमा लिई कानुनी कारवाही बढाउन माग गरे । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सचिव ठाकुरलाई ज्यान मार्ने धम्की दिदै अश्लिल गाली गरेको अडियो रेकर्ड म्यासेज पठाएको विषयमा सिंगो रौतहटका संचारकर्मीहरु तातिएर स्थानीय प्रहरी प्रशासन संग कारवाहीको लागि आ आफना स्थानबाट पहल सुरु गरे ।
पत्रकार ठाकुरलाई ज्यान मार्ने धम्की दिएपछि रौतहट प्रहरी एक्सनमा
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले इप्रका गरुडालाई अविलम्ब त्यस्ता हर्कत गर्नेलाई समात्न निर्देशन दिएपछि इप्रका गरुडा एक्सनमा आए । नेकपा एमालेका स्थानीय नेताको रुपमा रहेका लालबाबु साहको घरमा प्रहरी पुग्दा निजका छोरा अध्ययनको शिलशिलामा दक्षिण भारतको बेग्लोरमा रहेको बुझिएपछि लालबाबुलाई नै प्रहरीले समातेर इप्रका गरुडामा ल्याइयो ।
इप्रका गरुडामा लालबाबु साह र पत्रकार महासंघका सचिव संग म्यासेन्जरबाट सम्पर्क गराउदा तत्कालको लागि माफी मागेको हुँदा साहलाई छोडिएको जानकारी दिदै रौतहट प्रहरीका एसपी मगरले ज्यानमार्ने धम्की दिलाउने र गाली गर्न लगाउने समुहको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताए ।