भारतमा कोरोना संक्रमितहरुको संख्यामा दिन दिनै वृद्धि हुनु चिन्ताको विषय

   ५ चैत्र २०७७, बिहीबार १६:३३  

नयाँ दिल्ली, ५ चैत । कोरोना विरुद्धको खोप अभियान तीव्र पारिए पनि भारतमा कोरोना संक्रमणको दर उत्कर्षमा बढ्न थालेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको एक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ८७१ कोरोनाको नयाँ संक्रमित विरामी थपिएको हो । जुन दैनिक संक्रमित दरको संख्यामा तीन महिनाकै उच्च वृद्धि दर हो । पछिल्ला साता यता हरेक दिन २० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् ।
यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार नाघेको छ । ती मध्ये १ करोड १० लाख ६३ हजारभन्दा बढी निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ६४ छ । पछिल्लो २४ घण्टामा कोरोनाले १७२ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५९ हजार २१६ पुगेको छ ।


केही दिनयता संक्रमितको संख्यामा भइरहेको वृद्धिलाई विज्ञहरूले संक्रमणको अर्को लहर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विशेष गरी महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरात लगायत राज्यमा संक्रमण बढ्न थालेको छ । महाराष्ट्रलगायत केही राज्यले विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कफ्र्यु आदेश जारी गरिसकेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मात्र बढ्दो संक्रमण र खोप अभियानको प्रगतिको समीक्षा गर्न मुख्यमन्त्रीहरू सँग भिडियो कन्फरेन्स मार्फत छलफल गरेका थिए । उक्त छलफलमा मोदीले कोरोना संक्रमणको अर्को लहरलाई समयमै रोक्नका लागि खोप अभियानलाई तीव्रता दिन मुख्यमन्त्रीहरूलाई भनेका थिए ।
भारतमा बुधबारसम्म ३ करोड ७१ लाख ४३ हजारभन्दा बढीले खोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै