ओलीकै क्षेत्रमा एमाले कमजोर रहेको कारण राप्रपा संग गठजोड गर्नुपर्यो ओलीलाई

251 Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा आफूलाई निकै शक्तिशाली पात्रको रुपमा दाबी गर्छन्। तर, आगामी मंसिर ४ गतेको निर्वाचनमा भने ओली निकै कमजोर अवस्थामा पुगेका छन् भने उनको पार्टी धराशायी हुने अवस्थामा छ। 

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र-५ रहेको दमक नगरपालिकामा यसअघि एमाले उम्मेदवारलाई पराजित गर्दै राप्रपाका राम थापा विजयी भएका थिए। अहिले उनै थापाको फेरो समाउँदा राप्रपाको शरणमा ओली पुगेका छन्। उनले आफ्नो हरेक प्रचार अभियानका क्रममा राप्रपाका थापा र अन्य कार्यकर्ताहरुलाई खोजीखोजी साथमा हिँडाउने गरेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले झापा ५ बाट २०४८ यता निरन्तर चुनाव लड्दै आएका छन्। २०६४ मा बाहेक सबै चुनाव जितेका छन्। तर, यसपटक भने ओलीले पार्टीको आन्तरिक द्वन्द्व र उनको अधिनायकवादी कार्यशैलीका कारण जित त्यति सहज देखिँदैन। राष्ट्रिय राजनीतिमा लगातार उचाइ भर्दै गएका ओली उम्मेदवार भएपछि एमालेलाई उक्त क्षेत्र थप सहज बन्दै गए पनि यसपटक भने सकसपूर्ण अवस्था सिर्जना भएको छ। 

यस पटक ‌ओलीलाई आफ्नै नेता–कार्यकर्ताको पनि भर लाग्‍न छोडेको छ। एमालेले झापामा राप्रपासँग गरेको तालमेलअनुसार ५ नम्बरमा राप्रपाका उम्मेदवार छैनन्। गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। अधिकारी २०७४ को चुनावमा ओलीसँग पराजित भएका थिए। अघिल्लो पटक वाम गठबन्धनका कमान्डरसमेत रहेका ओलीलाई चुनाव जिताउन राप्रपाले पनि सहयोग गरेको थियो। त्यसबेला कांग्रेस एक्लै चुनाव लडेको थियो।
 
मंसिर ४ को चुनाव जित्न मुलुककै ठूलो पार्टीको अध्यक्ष तथा दुई पटक प्रधानमन्त्रीसमेत भइसकेका ओलीलाई अझै राप्रपाका कार्यकर्ताको मत आवश्यक रहेकोले राप्रपाको शरणमा ओली परेका देखिन्छन्। त्यसका लागि एमालेका स्थानीय, जिल्लास्तरीय नेतासँगै ओलीले पनि राप्रपाका हरेक गतिविधिलाई ध्यान दिएका छन्, राप्रपाका नेता–कार्यकर्तासँग निरन्तर सम्पर्कमा छन्।

प्रधानमन्त्री भइसकेका र पुनः प्रधानमन्त्री हुने जान्दाजान्दै पनि २०७४ को चुनावमा ओलीलाई दक्षिणी भेगबाट निराशाजनक मत प्राप्त भएको थियो। गौरादह दक्षिण र गौरीगन्जका मतदान केन्द्रमा खसेकोमध्ये आधाभन्दा पनि कम मतमात्र ओलीले पाएका थिए। उक्त क्षेत्रबाट ओलीलाई यसपल्ट पनि खासै सुधारको अपेक्षा छैन। त्यसकारण पनि ओलीलाई यस पटक राप्रपाको सहयोग अनिवार्य छ। तर, दमकको राप्रपा धर्मसंकटमा छ। तालमेल भए पनि खुलेर ओलीका लागि भोट माग्न हिँड्न सकेको छैन।

६ महिनाअघि स्थानीय चुनावमा राप्रपाले सत्ता गठबन्धनको सहयोगमा दमकको नगरप्रमुख जितेको थियो। नगरप्रमुख दिँदै गर्दा गठबन्धनका नेताले राप्रपाका प्रदेश अध्यक्ष थापालाई मंसिरको चुनावसम्म सघाउनुपर्छ भन्दै ‘कसम’ खुवाएका कारण पनि समस्या भएको हो। 

प्रमुख–उपप्रमुख नभए पनि दमक नगरपालिकामा बहुमत एमालेको छ। बहुमत भएकै कारण एमालेले असारमा नगरपालिकाको बजेट पारित गर्ने क्रममा अड्को थापेको थियो। एमालेको अवरोधका कारण थापाले असार मसान्तमा बजेट पारित गर्न सकेनन्। करिब महिना दिनको उल्झनपछि नगरपालिकाको बजेट त पारित भयो तर थापा र एमालेको सम्बन्ध सुध्रन सकेन।

तीन दशक एकछत्र नेतृत्व गरेको दमक नगरपालिकाको प्रमुख–उपप्रमुख गुमाएपछि एमाले दबाबमा छ। दमकको प्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना प्रसाईं निर्वाचित भएका छन्। क्षेत्रभित्रको कमल र गौरीगन्ज गाउँपालिकाको प्रमुख पनि कांग्रेसले जितेको छ। चारवटा पालिका रहेको झापा ५ मा गौरादह नगरपालिकामा मात्र एमालेको नेतृत्व छ।

यसकारण सबै चुनाव नतिजाको अंकगणित र धरातलीय अवस्थालाई हेरेर ओलीले आफू हार्ने देखेपछि राप्रपाको शरणमा पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार