चिनले नेपाली भुभाग कब्जा गरेर ९ वटा भवन बनाए

464 Shares

सिमकोट (हुम्ला), ५ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँ स्थित लाप्चामा नौ वटा घर बनाएको पुष्टि भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले नेपाल चिन सिमाना भन्दा २ किलोमिटर नेपाली भू भागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको पुष्टि गरेको हो । भवन व्यापारिक प्रयोजनका लागि मात्रै रहेको जनाइएको छ । अध्यक्ष लामाले भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए । आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ ।
लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो । उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन् । तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले स्पष्ट पारे ।
भवन बनाएको स्थान भन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ । त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिले सम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए । पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ । उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिका सँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए । त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार