काबुल । अफगानिस्तान र पाकिस्तानका सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा भएको झडपमा परी एक अफगान महिलाको मृत्यु भएको छ ।
दक्षिणी अफगानिस्तानको कन्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा भएको झडपमा परी अफगान महिलाले ज्यान गुमाएको अफगान समाचार संस्था खामाप्रेसले जनाएको छ । पाकिस्तानी सुरक्षाकर्मीको गोली लागी महिलाले ज्यान गुमाएको अफगानिस्तानमा शासन गरिरहेको तालिबानका प्रहरी अधिकारी मौलबी महमुदले जानकारी दिएका छन् ।
झडपका क्रममा दुबै पक्षबाट भारी हतियारको प्रयोग भएको जनाइएको छ । स्पिन बोल्दाक सहरका प्रहरी प्रमुख महमुदका अनुसार पाकिस्तानी पक्षले गोली प्रहार थालेपछि जवाफमा अफगान सुरक्षा बलले पनि गोली प्रहार गरेका थिए ।
घटनामा एक जना महिला मारिएको बाहेक कुनै विवरण सार्वजनिक नभएको जनाइएको छ ।
पछिल्लो समय पाकिस्तानी सेना र तालिबानबीचको सम्बन्धमा चिसोपन उत्पन्न हुन थालेको विश्लेषणबीच दुई पक्षबीच सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।