काठमाडौं, १७ कार्तिक । सत्तारुढ गठबन्धनको भावी प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नै निरन्तरता दिने भएको छ ।
प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेका बेला गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।
कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले ४ मंसिरपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताइन् । प्रधानमन्त्री बन्न उमेरले नछेक्ने भन्दै अनुभव र चलाउन सक्ने क्षमता आवश्यक पर्ने बताइन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको दाबेदार भएको बताइन् । देउवापछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने उनको संकेत थियो । आरजुले गगन थापा र रामचन्द्र पौडेलहरुको प्रधानमन्त्रीमा दाबी स्वभाविक रहेको भन्दै संसदीय दलको नेता जो बन्छ उही प्रधानमन्त्री बन्ने स्मरण गराइन् ।
तर चुनावपछि देउवा नै प्रधानमन्त्री बन्ने गठबन्धनमा सहमति भइसकेको उनको भनाइ छ ।
आरजुले आफ्नो प्रधानमन्त्री बन्ने चाहना भए पनि बेला नभएको बताइन् । आफू अझै युवा नै रहेको र थप अनुभव पनि चाहिने भन्दै उनले आफ्नो चाहना भने रहेको बताइन् । राजनीति गर्ने हरेक मान्छेको चाहना प्रधानमन्त्री बन्ने नै हुने उनको भनाइ थियो ।