सप्तरी । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर २ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । यहाँबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत संगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । दुईजना राष्ट्रिय अध्यक्ष सप्तरी २ बाटै उम्मेदवारी दिएपछि सबैको चासो बढेको हो ।
२०७४ को चुनावमा यादव यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने राउतले पहिलो चोटी निर्वाचनमा भाग लिएका छन् । जसपा अध्यक्ष यादवले गएको ५ वर्षमा गरेको विकासलाई मुख्य आधार बनाएर जनता माझ उत्रिएका छन् भने राउतले किसान आन्दोलनको मुद्दालाई अगाडि सारेका छन् ।
यता सत्ता गठबन्धनका उम्मेदवार ठाकुर पनि प्रतिस्पर्धामा बलियो नै देखिएका छन् ।
उपेन्द्रलाई चुनौती
तीनै उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भए पनि ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनको आधारमा उपेन्द्रलाई यसपालि जित निकाल्न सजिलो भने छैन । ३० बैशाखमा भएको स्थानीय चुनावको मत परिणामलाई आधार मान्ने हो भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवार भएका यादवलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
स्थानीय तहको चुनावमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सप्तरी २ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अगाडि छ ।
सत्ता गठबन्धनमा रहेका दलका वडाध्यक्षहरुले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतमा कांग्रेसको वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ८ सय ७ मत, लोसपाका वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ४ सय ३५ मत, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ४ सय ८ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत एक ठाउँमा राख्दा ३३ हजार १ सय ८४ मत हुन आउँछ ।
यसैगरी स्थानीय तहकै निर्वाचनमा जसपाका वडाध्यक्षहरुले प्राप्त गरेको मत १४ हजार ४ सय ३ मत रहेको छ भने एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए ।
यसरी दुवै दलको मत एक ठाउँमा राखेर हेर्ने हो भने २० हजार ३ सय ५४ मत हुन आउँछ । यस आधारमा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धन मत १२ हजार भन्दा बढी मतले अगाडि छ ।
स्थानीय तहको चुनावमा दुवै गठबन्धनका वडाध्यक्षहरुले प्राप्त गरेको मतमा सत्ता गठबन्धनले पाएको मत ३३ हजार १ सय ८४ रहेको छ भने एमाले–जसपा गठबन्धनले प्राप्त गरेको मत २० हजार ३ सय ५४ रहेको छ । र, यसको आधारमा उपेन्द्रलाई चुनाव जित्न कठिन देखिएको हो ।
एकातिर २०७४ को मधेश आन्दोलनदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस र मधेसीको मुख्य शत्रुको रुपमा प्रस्तुत गर्दै आएका यादवले ओलीसँग गठबन्धन गर्दा उनको पार्टीभित्रै पनि कार्यकर्ता असन्तुष्ट छन् भने ६ वर्षअघि भएको मलेठ घटनापछि एमालेसँग झनै सम्बन्ध बिगारेको जसपाले उसैसँग गठबन्धन गर्नुले आम जनतामा पनि असन्तुष्टि बढेर गएको हो ।
अहिले सप्तरीमा एमालेसँग गठबन्धन किन ? सत्ता गठबन्धनमा कुरा नमिले जसपा एक्लै चुनावमा जानु पथ्र्यो जस्ता कुरा चौतर्फी चर्चाको विषय बनेको छ ।
विगतको चुनाव
२०७४ को चुनावमा उपेन्द्र यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसको समर्थनमा सप्तरी २ बाट उम्मेदवार भएका थिए ।
उनी २१ हजार ६२० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए भने राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने ९ हजार ४५८ मत ल्याएका थिए ।
यसपालि ठाकुर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन् भने उमेश क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट ठाकुरसँगै उम्मेदवार बनेका छन् ।
विगतको हिसावले हेर्दा २०७४ को चुनावमा उपेन्द्रविरुद्ध चुनाव लडेका दुई प्रतिस्पर्धी यसपालिको चुनावमा सत्ता गठबन्धनका कारण एकै ठाउँमा छन् । यसले पनि जसपा अध्यक्ष यादवलाई चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।
राउतको एजेण्डा
जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कारण उपेन्द्र, सीके र जयप्रकाश ठाकुरबीच यहाँ त्रिकोणात्मक रोमाञ्चक प्रतिस्पर्धा हुनेमा दुईमत छैन ।
यसै निर्वाचन क्षेत्रको महदेवा गाउँपालिका वार्ड नम्बर २ घर भएको राउत पहिलो पटक आम निर्वाचनमा उम्मेदवार भएकाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरेका छन् ।
उनी जनमत पार्टीले पछिल्लो पटक गरेको किसान आन्दोलनलाई चुनावको प्रमुख एजेण्डा बनाएर जनता माझ उत्रेका हुन् ।
राउतले एमालेसँग गठबन्धन गरेका कारण जसपाभित्र देखिएको असन्तुष्टि, नागरिकता विधेयक र जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा भएका भ्रष्टाचारका मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएर जनताको घरदैलोमा पुग्ने छन् ।
मानसिक दबाब
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ साल यता अहिलेसम्म एउटै व्यक्तिले दुई पटक कसैले पनि चुनाव नजितेको इतिहास छ ।
यसले पनि उपेन्द्रमाथि मानसिक दबाब बनाएको हुन सक्छ । २०५६ को निर्वाचनमा तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए ।
सिंहलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरी निर्वाचित भएका थिए । हाम्राकुरा डटकम
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन