प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी भई काठमाडौं फर्किएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गरेका हुन् ।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किएको बताए । उनका अनुसार देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजित सभालाई सम्बोधन गरे ।
यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिकाको चुनावीसभालाई देउवाले सम्बोधन गर्नु भयो । कात्तिक २० गते देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिको चुनावीसभालाई सम्बोधन गरे । डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा देउवा र प्रदेश मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन् ।
असोज २३ गते उम्मेदवारी दर्तासमेत वारेसनामा मार्फत गरेका देउवा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पहिलो पटक डडेल्धुरा आउनु भयो। कांग्रेस जिल्ला सभापति साउदका अनुसार देउवा डडेल्धुरा विनानै सत्ता गठबन्धनले चुनावी अभियान अगाडि बढाइरहेको छ ।