रौतहट, २३ कार्तिक । नेपाल पत्रकार महासंघ रौतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकामा कार्तिक २६ गते हुने निश्चित भएको छ ।
दुर्गा भगवती गाँउपालिकाको वडा नम्वर ३ स्थित दुर्गा मन्दीर मत्सरीको सभाहलमा यही कार्तिक २६ गते शनिवारको दिन हुने निश्चित भएको हो ।
महासंघको जिल्ला कार्य समिति सचिव मदन ठाकुर (धनन्जय) ले दिनु भएको जानकारी अनुसार केन्द्रीय कार्यालयले गरेको परिपत्र अनुसार कार्तिक मसान्त भित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्ने भएको हुँदा छोटो समयमै महासंघ रौतहट शाखाले साधारण सभा गर्ने निर्णय गरेको छ । जिल्लाको सबै पालिकामा नेपाल पत्रकार महासंघको गतिविधि गर्ने लक्ष्यका साथ यो वर्षको साधारणसभा दुर्गा भगवती गाउँपालिकामा गर्न लागिएको उनले भने ।
साधारणसभाको प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलबाट शनिबार विहान ९ः३० बजे उदघाटन हुने सचिव ठाकुरले जानकारी दिए ।नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा चन्द्रनिगाहपुरमा बसेको बैठकले साधारणसभा गर्ने स्थान तथा प्रमुख अतिथि बारे निर्णय गरेको थियो ।
सो बैठकमा केन्द्रीय सदस्य शिवपुरीको विशेष उपस्थिति रहेको थियो । साधारणसभा गर्ने निर्णय गत कार्तिक ४ गतेको बैठकबाट भएको थियो । प्रमुख अतिथि र साधारणसभा स्थलबारे सोमबार बसेको बैठकले टुङ्गो लगाएको हो । साधारण सभामा नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पूर्ण पदाधिकारी एवं साधारण सदस्यलाई उपस्थित हुन आग्रह गरिएको उनले भने ।
नयाँ सदस्ता खोलिने तथा संचारमाध्यमहरु सुचिकृत गरिने
उक्त बैठकले पत्रकार महासंघको नयाँ सदस्यता खोल्ने निर्णय गर्नुको साथै जिल्लाका सञ्चारकर्मी तथा संचार संस्था सुचिकृत गर्ने भएको छ । नयाँ सदस्यताका लागि आवेदन दिने समय २०७९ मंसिर १५ गते देखि मंसिर मसान्तसम्म तथा सुचिकृत हुन मंसिर १० गतेसम्मको समय दिने निर्णय गरिएको सचिव ठाकुरले जानकारी दिए । महासंघको बैठकले सञ्चारकर्मीको सवारी साधनको दुरुपयोग रोक्न तथा आफ्नै सुरक्षाका लागि सवारी साधनमा लेखिएको प्रेस मेटने निर्णय गरेको तथा यस कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोग लिई पालना गराईने निर्णय भएको सचिव ठाकुरले बताए । सक्कली नाम थर लेख्न तथा नामको आगाडी पछाडी जर्नलिस्ट आरजे र पत्रकार नलेख्न सञ्चारकर्मीलाई आग्रह गर्ने महासंघले निर्णय गरेको छ । सो बैठकले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आधारहिन तथ्यहिन, भ्रामक सुचना सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने निर्णय समेत गरेका छन ।