क्षयरोग निवारणको लागि गौरमा जेन एक्सपर्ट मेशिन संचालनमा

   ६ आश्विन २०७७, मंगलवार १०:३८  

रौतहट, ६ असोज । रौतहट सदरमुकाम गौर स्थित स्वास्थ्य कार्यालयमा क्षयरोग निवारणको लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिन जडान भई संचालनमा आएको छ ।
राष्ट्रिय क्षयरोग निवारण केन्द्र भक्तपुरबाट उपलब्ध गराइएको जेन एक्सपर्ट मेशिनलाई गौर स्थित स्वास्थ्य कार्यालयको भवनमा सोमवार जडान गरी संचालनमा ल्याउइएको हो ।
१२ सय क्षयरोगी विरामी रहेपनि सदरमुकाम गौरमा जेन एक्सपर्ट मेशिनको अभावमा ४२ किलोमिटर टाढा चन्द्रपुरमा गएर परिक्षण गराउनु परिरहेको बाध्यतालाई समाप्त पार्दै गौरमै जडान भएपछि यस भेगका विरामीहरुलाई सुविधा पुगेका छन् ।
जडान भएको जेन एक्सपर्ट मेसिनको एक समारोहका विच गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले उदघाटन गर्दै माईक्रोस्कोपबाट खकार परिक्षण तथा एक्सरे प्रविधिबाट खकारमा क्षयरोगका किटाणु नदेखिदा धेरैलाई सर्न सक्ने सम्भावना भएको हुँदा आफू सहित स्वास्थ्यकर्मीहरुको अथक मेहनतको परिणमबाट यहाँ जेन एक्सपर्ट जडान हुन सफल भएको स्पष्ट पारे ।
जडान भएको जेन एक्सपर्ट मेशिनको माध्यमबाट सहज रुपमा क्षयरोगका किटाणु देखिने हुँदा क्षयरोगबाट जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएकोले यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिए । क्षयरोगका बारेमा समुदायमा सचेतीकरण गराउनुपर्ने नितान्त आबश्यकता रहेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याएर छाड्ने जनता संग चुनावको समयमा गरिएको वाचाहरु विस्तारै पुरा हुँदै गएकोमा खुशी व्यक्त गर्दै नगरप्रमुख गुप्ताले अगामि दिनमा अस्पतालको भौतिक संरचना देखि लिएर दक्ष चिकित्सकको व्यवस्थापनमा नगरपालिकाबाट सबै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गौर अस्पतालका मेडिकल सुप्रिडेन्ट डा. कृष्णा साहले नेपालमा दैनिक २२ जना क्षयरोगीले मृत्यु भईरहेको छ, एक जना क्षयरोगीले बर्षमा दश जना निरोगी व्यक्तिलाई क्षयरोग सारिरहेको बताउँदै त्यसको रोकथामका लागि डट्स उपचार विधिलाई सही तरीकाले प्रयोग गर्नु र गराउन पर्नेमा जोेड दिए ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख महेश साहले स्थानीय तहको अवधारण संगै स्वास्थ्य कार्यालयको काम काजहरु ओझेलमा पर्दै जाँदा कोभिड १९ को भयाभय महामारीमा सबैलाई स्वास्थ्य कार्यालयको भुमिका अहम रहेपछि यसप्रति राज्यको पनि गम्भीर ध्यानाकर्षण भएको बताउदै राष्ट्रिय क्षयरोग निवारण केन्द्रबाट जेन एक्सपर्ट मेशिन ल्याउनमा सबैको प्रयासबाट नै सम्भव भएकोमा यसलाई संरक्षण गरेर आवश्यक पुर्वाधार एवं दक्ष ल्याव टेक्नीशियनको पदपुर्ती गराएर सेवा प्रवाह गरिएमा दिगो एवं भरपर्दो रहेको बताए । मल्टि पर्पसको रुपमा रहेका जेन एक्सपर्ट मेशिनबाट धेरै किसिमका जाँच गर्न सकिने भएको हुँदा रौतहटबासीको धरोहर रहेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै