काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंह बलियो बन्दै गएका छन् । उनीप्रति जनमत र आकर्षण बढीरहेको पछिल्ला घटनाले देखाएको छ ।
शुक्रबारमात्रै सिंहका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् । उनले प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताए । ‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें,’ उनले भने । उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको निष्कर्ष समेत उनले सुनाए ।
यसअघि लोसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधि सभा सदस्य उम्मेदवार रणविर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय पारिसकेका छन् ।