जसपा अध्यक्ष उपेन्द्र यादवसँग पछिल्लो पाँच वर्षे कार्यकालमा अक्सर समय मन्त्री बने । मन्त्रालय फेर्दै मन्त्री बनेका उनी केपी ओलीले गलहत्याइएपछि बाहिरिए । त्यसपछि बनेको पाँच दलीय गठबन्धनको सरकारमा पनि उनले आफ्नो दललाई चार मन्त्रालयसहित सामेल गराए । त्यतिमात्रै उनी आफै पनि उपप्रधानमन्त्री बन्न खोजेका थिए । तर शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उपप्रधानमन्त्री नै नराख्ने भएपछि उपेन्द्र ब्याक भए । मधेस मुक्तिका लागि जनमत लिएर आएका उपेन्द्रले सत्ता दाउपेचका कारण मधेसकै पहिलो शक्ति बनेको एकीकृत पार्टी जसपालाई जोगाउन सकेनन् । उनको अहंमता र सत्ता लोभले जसपा फुट्यो । सांसद निर्वाचित भएपछि काठमाडौंमा बसेर पाँच वर्ष सत्तामा पुग्ने खेलमै रमाइरहने उपेन्द्रलाई यसपालि सप्तरी २ का मतदाताले मत नदिने निष्कर्ष निकालेका छन् । चुनावका बेला टुरिस्टको जसरी हात जोड्दै आउने र अरु बेला वास्ता नगर्ने, क्षेत्रबाट वेपत्ता हुने उनको कार्यशैलीले आजित यहाँबाट जनता टुरिस्टलाई मत नदिने मनस्थिति बनाएका हुन् ।
जितेपछि क्षेत्रमा फर्किएर नआउने प्रवृत्ति पटक पटक दोहोर्याएका उपेन्द्रलाई मतदान गर्नुभन्दा एकचोटि नयाँ अनुहारलाई हेर्ने यहाँका मतदाताहरुले बताएका छन् । यहाँ नयाँ अनुहारमा जयप्रकाश ठाकुर अगाडि देखिएका छन् । त्यस्तै सीके राउत पनि नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा छन् ।
राजविराजका युवा मतदान सुरेश यादव भन्छन्, ‘उपेन्द्र यादव हाम्रो टुरिस्ट नै हुन् । चुनावका बेला हात जोड्दै घरदैलोमा आउने र त्यसपछि एक पटक पनि मुख नदेखाउनेलाई किन पटक पटक मत दिने ? यसपालि नयाँ अनुहार आउनुपर्ने हाम्रो मानसिकता छ । उपेन्द्रमा फेरि सत्तामा पुर्याउनकै लागि हामी मत दिँदैनौं,’ उनले भने ।
अर्की मतदाता जुली ठाकुरले पनि उपेन्द्रको स्वार्थी प्रवृत्तिले वाक्क भएको बताइन् । ‘अब पुग्यो । राजविराजले नयाँ अनुहार खोजेको छ । यो क्षेत्रभन्दा काठमाडौं प्यारो ठान्ने उपेन्द्रको प्रलोभनमा अब हामी मतदाता पर्दैनौं ।’
उपेन्द्र यादव पछिल्लो ०६४ देखि मधेसको नाम बेचेर निरन्तर सत्ता र सदनमा पुगिरहेका छन् । उनको नेतृत्वमा मधेसको परिवर्तनका नाममा एक सय जनाभन्दा बढीको ज्यान गएको छ । तर उनको सत्ता लोभी ब्यवहारले अहिले मतदाता चिढिएर अवस्था बिग्रिएको छ । नेपालपाना