रौतहट, २ मंसिर । मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा शुक्रवार नमूना मतदान कार्यक्रमको आयोजना गरियो ।
आम नेपाली जनताहरुको महाकुम्भ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गराउने उद्देश्यबाट आज मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिकाको कार्यालय परिसरमा नमूना मतदान कार्यक्रमको आयोजना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, राष्ट्रिय अनुसन्धानका उप निर्देशक मुकुण्ड खड्का, कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख एवं निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक अर्जुन बराल सहित संचारकर्मीहरु नमूना मतदान गरे ।
मंसिर ४ गते हुने निर्वाचनलाई पूर्ण रुपमा धाँधलीरहित, शान्त र निष्पक्ष गराउने हाम्रो अभियान रहेको हुँदा त्यस कार्यमा सुरक्षाका सम्पूर्ण अंग परिचालन भएको हुँदा ढुक्क भएर मतदाताहरु मतदान गर्न रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले आग्रह गरे ।