तराई टप संवाददाता
रौतहट, २९ चैत । शिक्षकलाई कुटपिट गरेको आरोपमा ९ जना विद्यार्थीलाई विद्यालयबाट निष्काशित गरिएको छ भने एक जना अभिभावक विरुद्ध कानुनी प्रक्रिया अगाडी बढाइएको छ ।
रौतहटको बृन्दावन नगरपालिका वडा नम्वर ४ हर्दिया पल्टुवा गाउँ स्थित रहेको सरस्वती माध्यमिक विद्यालय शिक्षक कैलास यादव माथि विद्यार्थीहरुले आक्रमण गरी निर्घात कुटपिट गरेको आरोपमा ९ जना विद्यार्थीलाई विद्यालयबाट निष्काशित गरिनुको साथै कक्षा ७ मा अध्ययनरत छात्र रुपेश यादवको बुवा प्रेम रायमाथी कानुनी कारवाहीको प्रक्रिया अगाडी बढेको हो ।
कुटपिट गर्ने अभिभावक रायलाई प्रहरी नियन्त्रणमा लिएको छ । गत विहिबार नियमित कक्षा सञ्चालनको क्रममा हो हल्ला गर्दा शिक्षक कैलास यादवले सम्झाइ बुझाइ गरेको तर सोही कुरालाई लिएर शुक्रबार शिक्षक यादवलाई बिहान विद्यालय जादै गर्दा बाटो ढुकेर बसेका रुपेशका बुवा रायले लठ्ठीले शिक्षकलाई कुटपिट गरेका थिए ।
शिक्षक यादवको शरिरका विभिन्न स्थानमा चोट लागेर चन्द्रनिगाहपुरस्थित जनता सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरि सो विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई अवरोध गर्ने उत्श्रृङखल कार्यमा संलग्न ९ जना विद्यार्थीहरुलाई निस्कासन समेत गरेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राकेश साहले बताए । निष्काशन भएका विद्यार्थीहरुमा कक्षा ९ का दिलिप यादव, सुनिल यादव, सरोज सादव, नितेश यादव, राहुल यादव, उमाकान्त यादव, कक्षा ७ का रामविश्वास यादव र सुनिल यादव रहेको समितिका अध्यक्ष साहले जानकारी दिए ।
शनिबार बसेको विद्यालय ब्यबस्थापन समिति, अभिभावक, बुद्धिजिवि लगायतको सहभागीतामा सम्पन्न बैठकले कुटपिट गर्ने रुपेशका बुवा प्रेम रायलाई थप कानुनी कारवाही गर्ने र ९ जना विद्यार्थीहरुलाई निष्कासन गर्ने निर्णय समेत गरेको विद्यालय प्रशासनले जनाएको छ ।