पिआर निर्जल
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विगतको आम निर्वाचनमा नकटतम उम्मेदवारबाट १० हजारको अत्याधिक मतबाट सप्तरी २ बाट निर्वाचित भएर प्रतिनिधि सभामा पुगेका थिए तर यसपाली उनलाई किन त्यहाँ सम्म पुग्न दिएनन् सप्तरीका मतदाताहरु यो सोचनिय विषय हो ?
उपेन्द्र यादवलाई सप्तरी २ का मतदाताहरुले १८ हजार ६३ मतको फराकिलो मतान्तरबाट उनलाई रिजेक्ट गर्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई सेलेक्ट गरेर उपेन्द्रलाई ठूलो झापड हानेको हो ।
२०७४ मा उपेन्द्रका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५सय ८० भोट ल्याएका थिए । उपेन्द्र भने २१ हजार ६ सय २० मत ल्याएर विजयी भएको थियो ।
त्यतिबेला उमेशलाई एमालेको समर्थन रहेको थियो । यसपटक सप्तरी २ मा उपेन्द्रले १६ हजार ९ सय ६९ मात्र भोट ल्याए । तर त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले ३५ हजार ४२ भोट ल्याई विजयी भए । यतिबेला एमालेले उपेन्द्रलाई समर्थन गरेको थियो । तैपनि उपेन्द्रले चुनावमा हारको सामना गर्नुपर्यो ।
उपेन्द्रलाई मधेशी जनताहरु अहिले उनलाई रिजेक्ट गर्दै प्रतिनिधि सभा सम्म पुग्ने बाटो तत्कालको लागि बन्द गरिदिएका छन् । अघिल्लो पटक १० हजार भोटको फरकले चुनाव जितेका यादव यसपटक पनि सप्तरी २ लाई सहज ठानेका थिए । तर परिस्थिति उनले आँकलन गरे जस्तो भएन । सप्तरी २ बासीले उनलाई हराए ।
उपेन्द्र अस्वीकृत हुनुका प्रमुख कारण उनले लिएको नीति नै हो । उनलाई कहिले भारत विरोधी, कहिले चिनियाँ पक्षधर रहेको कारण हारमा त्यो पनि एउटा कारण बन्यो । कहिले आफूलाई भारतसँग नजिक जस्तो देखाए । स्थानीय तहको चुनावमा उनी चिनियाँ पक्षधरको रुपमा देखिएका थिए । यादवलाई चीनसँग कनेक्सन गराउने काम जनकपुरकै डा. राजीव झाले गरेका थिए ।
डा.झा चीनमा पढेका प्रोफेसर हुन् । डा. झा मार्फत मधेसमा विभिन्न नाममा चिनियाँ कार्यक्रम लगिएका छन् । २०७५ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको २१ जनाको एउटा ठूलो टोली चीन भ्रमणमा गएको थियो ।
जसमा ७ जना फोरमका सांसद थिए । त्यो भ्रमणमा यादव सँग नजिक देखिएकाहरुले मात्र अवसर पाएका थिए । यसपटक उपेन्द्र मधेसबाट रिजेक्ट हुनुले एउटा सन्देश दिएको छ । त्यो भने मधेसमा यादवले लिएको चीन नीतिलाई मधेसी जनताले स्वीकार्य गरेनन ।
‘खासगरी मधेसमा चिनियाँ पक्षको चासो र चिनियाँ पक्षको कनेक्सनलाई रिजेक्ट गरेका सन्देश यो चुनावले देखाउँछ’, एक विश्लेषकले भने ।
यादव पराजित हुनुको अर्को कारण हो उनले लिएको ढुलमुले नीति । उनी कहिले एमालेसँग नजिक भए, कहिले नेपाली कांग्रेससँग नजिक भए । ओली सरकारमा पनि गए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा पनि गए । यादव कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए । अहिले ओलीसँग टाँसिए । २०७६ सालमा ओली सरकारबाट बर्हिगमन भएपछि यादवले ओलीलाई संघीयता र गणतन्त्र विरोधी भन्दै अब ओलीसँग कहिल्यै सहकार्य हुन नसक्ने बताएका थिए । तर चुनावको अन्तिम समयमा ओलीसँग सहकार्य गरे । ओलीसँगको सहकार्यले उनलाई धोका भएको छ ।
यादव पराजित हुनुको तेश्रो कारण हो उनी अन्य मधेसवादी दल तथा मधेसी नेताहरूबाट एक्लिए । उनकै कारण मधेस केन्द्रित दल पटक पटक फुटेको थियो । एक वर्षमा जसपा २ पटक फुट्यो । एउटा राष्ट्रिय पार्टी एक वर्षमा २ पटक फुटेको सम्भवतः जसपा मात्र हो ।
२०७८ सालमा जसपा दुई पटक फुट्यो । २०७८ भदौमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका नेताहरु जसपाबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए भने २०७८ को अन्त्यतिर डा.बाबुराम भट्टराई लगायतका नेताहरु जसपाबाट अलग भइ समाजवादी पार्टी गठन गरेका थिए ।
२०६४ सालयता यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जन अधिकार फोरम अहिलेसम्म १२ पटक भन्दा बढी फुटिसकेको छ यसबाट पुष्टि हुन्छ नेतृत्व लिने क्षमता उनीसँग छैन । ६ वर्ष अगाडि सप्तरीको मलेठ घटनालाई बिर्सेर यादवले एमालेसँग सहकार्य गरेका थिए । तर, सप्तरी २ को मलेठ घटनालाई जनताले बिर्सेनन् । मतदाताले पनि त्यसरी नै लिए । मतदाताले यादव गरेको गम्भीर भुलका रुपमा नै लिए । ६ वर्षअघि तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा र एमालेबीच सोझो भिडन्त भएको थियो । जसमा ५ जना मधेसी मोर्चाका कार्यकर्ताको निधन भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए ।
एमालेसँगको सहकार्यले उपेन्द्रलाई यसपटक ठूलो धोका दिएको छ । एमाले नागरिकता विधेयक विरोधी पार्टीको रुपमा मधेसमा चिनिएको छ । त्यही पार्टीसँग उपेन्द्रले सहकार्य गरे । यसको फाइदा जनमत पार्टीले लियो ।
सप्तरीमा जनमत पाटीका कार्यकर्ताहरुले मधेसको लागि एमाले र जसपा उस्तै उस्तै हुने भन्ने सन्देश पुर्याए । एमाले सँगको सहकार्यले यस भनाइलाई मलजल पुर्याइयो ।
यादवले यादववादको रणनीतिबाट चुनाव जित्ने चलाखी खेले । यो रणनीतिलाई सप्तरीबासीले मन पराएनन् । यादवले शुरुदेखि नै पार्टीभित्र यादववाद नीति अपनाएका थिए । यादव बाहेक अन्य समुदायलाई उपेन्द्रले सकेसम्म अवसर दिएनन् । बाहिर समावेशी र समानुपातिकको नारा दिए पनि व्यवहारमा उनी त्यसको ठीक उल्टो भए । यही कारण उनी यसपटक मधेसमा रिजेक्ट भए ।