रौतहट, ११ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको मतगणना अधिकाँश क्षेत्रमा सम्पन्न भइसकेको छ तर मधेश पदेशका चार वहालवाला मन्त्री पराजित भएका छन् ।
मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह सप्तरी २ (क) मा पराजित भएका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साह जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहसँग दोब्बर मतान्तरले पराजित भए । सतिशकुमारले १६ हजार ७३४ मत ल्याउँदा मन्त्री साह आठ हजार २९२ मतमै सिमित भए ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री सिरहा २ (क) विजय यादव पनि पराजित भए । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं कोषाध्यक्ष समेत रहेका यादव जनमत पार्टीका सचिव संजय यादवबाट पराजित भएका हुन् ।
संजय यादवले १२ हजार १७१ मत ल्याउन मन्त्री यादवले ११ हजार ५२७ ल्याए । यस्तै मधेस सरकारकै भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रौतहट १ (ख) योगेन्द्रराय यादव पनि पराजित भए । जसपाबाट उम्मेदवार रहेका उनी कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवसँग पराजित भएका हुन् । राज्यमन्त्री यादव तेस्रो स्थानमा सीमित भए । कृष्णप्रसाद यादवले १२ हजार ४८९ मत ल्याएर निर्वाचित हुँदा तेस्रो स्थानमा रहेका राज्यमन्त्री यादवले पाँच हजार ७२९ मत पाए ।
मधेस सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्रराय यादव पनि रौतहट ३ (क) बाट पराजित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार केशवराय चौधरीबाट पराजित भएका हुन् । उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्रराय यादवले सात हजार ६२२ मत ल्याएर तेस्रो स्थानमा थन्किए भने विजयी भएका केशवरायले १२ हजार २५५ मत पाए । दोस्रो स्थानमा रहेकी जसपा नेतृ पुजा चौधरीले १० हजार १३२ मत पाइन् ।
उद्योग, पर्यटन तथा वन मन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो धनुषा ४ (ख) मा हरिनारायण महतो सँग प्रतिस्पर्धा गरिरहेका छन् । एमालेका नेता हरिनारयण महतोले अहिले अग्रता लिएका छन् भने मन्त्री शत्रुधन महतोले उनलाई पछ्याइरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन