मंसिर ४ मा सम्पन्न भएको निर्वाचनले प्रगतिशिलको पक्षमा जनताहरुले फैसला दिएको छ । किनभने यसपाली नेताका छोराछोरी, श्रीमती सहित परिवारवादलाई परास्त गरेको मतपरिणम बाट स्पष्ट पारेका छन् ।
विगतमा देशका लागि ठूलो योग्यदान पुर्याउने व्यक्ति नै किन नहोस वा खराव काम गर्ने व्यक्ति नै किन नहोस यसपाली मतदाताहरुले उनीहरुलाई सबक सिकाएका हुन् ।
नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला मोरङमा चुनाव हारिन् । विगतमा गिरिजाले चुनाव लड्दै आएको क्षेत्रमा यसपटक सुजाताले उम्मेदवारी दिएकी थिइन् र चुनाव प्रचारका क्रममा पनि आफु गिरिजा प्रसादको उत्तराधिकारी भएको समेच चिनाएपनि उनी परास्त भईन । सुजाता नेकपा एमालेका ऋषिकेश पोखरेल संग पराजित भइन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ ।
बिना मगर
माओवादी केन्द्रीय सदस्यसमेत रहेकी बिना मगर यसपटक कञ्चनपुर–१ बाट पराजित भइन् । २०७४ मा यसै क्षेत्रबाट चुनाव जितेकी विनालाई यसपटक नेकपा एमालेका तारा लामा तामाङले ५ हजार भन्दा बढी मतान्तरले पराजित गरे ।
मानुषी यमी भट्टराई
चुनावको केही महिनाअघि मात्र जनता समाजवादी पार्टीबाट अलग भएका डा. भट्टराईले आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरे र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने निर्णय लिए ।
माओवादीको चिह्नबाट प्रतिनिधिसभामा चुनाव लड्ने नेसपाका जम्मा दुई उम्मेदवार थिए, अर्का अध्यक्ष महिन्द्र राय यादव र नेता मानुषी यमी भट्टराई । बाबुरामकी छोरी मानुषीले काठमाडौं–७ बाटै टिकट पाइन् । मानुषी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् ।
फिरदोस आलम
रौतहट–२ बाट कांग्रेस उम्मेदवार बनेका फिरदोस आलम पूर्वसांसद मोहम्मद अफताब आलमका छोरा हुन् । उनले आफ्नै राजनीतिक योगदान भन्दा पनि बाबुको कारण टिकट पाएको कांग्रेस नेताहरु बताउँछन् । यो क्षेत्रबाट २०५६ देखि २०७४ सालसम्म अफताब आलमले चुनाव लडेका थिए ।
तर २०६४ सालको चुनावका बेला रौतहटकै राजपुरमा इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका पूर्वसांसद मोहम्मद अफताब आलमले यसपटक चुनाव लड्न पाएनन्, ३५ वर्षका छोरा फिरदोसले टिकट पाए तर, फिरदोस स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजित भए ।
मधुमालाकुमारी यादव
सर्लाहीका शिवपूजन राय २०६४ सालको संविधानसभा सदस्य थिए । तर कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग प्रकरणमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले माओवादी केन्द्रबाट टिकट पाए पनि सर्वोच्च अदालतले चुनाव लड्न नपाउने ठहर गरिदियो ।
काठमाडौंमा नर्सिङ पढिरहेकी शिवपूजनकी छोरी मधुमालाकुमारी यादव सर्लाही–४ बाट उम्मेदवार बनिन्, शिवपूजन उनको चुनाव प्रचारमा निकै खटिए । तर यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह निर्वाचित हुँदा मधुमालाकुमारी तेस्रो स्थानमा रहिन् ।
श्रीमान् निर्वाचित, श्रीमती पराजित
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित हुँदा उनकी पत्नी ओनसरी घर्ती भने काठमाडौं–२ बाट पराजित भइन् । पूर्वसभामुखसमेत रहेकी ओनसरीका लागि काठमाडौं नयाँ निर्वाचन क्षेत्र थियो ।
श्रीमती निर्वाचित, श्रीमान् सकसमा
नेकपा एमालेका नेता रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो दुवै यसपटक धनुषाबाट उम्मेदवार थिए । रघुवीर धनुषा–४ मा थिए भने जुली धनुषा–३ मा । तर रघुवीर कांग्रेस नेता महेन्द्र यादवसँग प्रतिस्पर्धामा पछि परिरहेका छन् भने जुलीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गरिन् । तर रघुवीर भने करिब एक हजार मतान्तरले पछि छन् ।