सात दल बने राष्ट्रिय पार्टी, नेकपा एस राष्ट्रिय पार्टी बन्ने प्रयासमा

276 Shares

रौतहट, १६ मंसिर । मंसिर ४ मा सम्पन्न पएको प्रतिनिधि र प्रदेश सभा सदस्य पदको निर्वाचनको नजिता आउने क्रम जारी रहेको छ तर अहिले सम्म सात वटा दल मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएको छ ।
प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने स्याङजा, दोलखा र बाजुराको मत मतगणना जारी रहेको हो । समानुपातिक तर्फ पनि झन्डै १ करोड ७ लाख मत गणना भईसकेको निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे ४ लाख मत बदर भएको छ । आयोगका अनुसार अब सबैतिरको गरेर साढे २ लाख हाराहारी मत गणना गर्न बाँकी रहेको जनाएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार स्याङजा, दोलखा, बाजुराको प्रत्यक्ष तर्फ सहित उदयपुर, धनुषा लगायत केही जिल्लाको समानुपातिक मत गणना भइरहेको छ ।
शुक्रबार बिहानसम्म समानुपातिक तर्फ सबैभन्दा धेरै मत ल्याउने नेकपा एमाले भएको छ । एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।
त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ । हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ ।
राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी भएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यो पार्टीले शुक्रबार बिहान सम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार