रौतहट, ८ असोज । रुपनदेहीको बुटवल स्थित कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुवै जनालाई एक साता देखि भेन्टिलेटरमा राखिएका थिए ।
कोरोना संक्रमित मर्नेहरुमा एक जना नवलपरासी पश्चिम र एक जना कपिलवस्तुको रहेको छ । दुवैजनालाई गत सात दिन देखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको क्रममा मृत्यु भएको जनाइएको हो ।
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजेको समयमा मृत्यु भएको छ । उनी धेरै दिन देखि कलेजो र मिर्गौला रोगबाट ग्रसित रहेका रोगी थिए । यसैगरी असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिदै मृतक मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको थियो ।
यस्तै चितवन मेडिकल कलेजमा उपचारार्थ कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमण सँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।