पर्सा, वारा सहित १४ जिल्लामा कोरोना संक्रमण दर उच्च रहेको हुँदा विद्यालय बन्द राख्न स्वास्थ्य मन्त्रालयको अपिल

तराई टप संवाददाता
काठमाडौं, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर उच्च रहेको हुँदा १४ वटा जिल्लामा विद्यालय नखोल्न अपिल जारी गरेको छ ।
मन्त्रालयले हाल सम्म सेवा बन्द बारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम उच्च रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन अपिल जारी गरेको हो । मन्त्रालयले रात्रि व्यवसाय, ७ बजे पछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजा आजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेका छन् ।
यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।
यी हुन् कोरोनाबाट अति प्रभावित १४ जिल्ला
मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।