हुलाकी सडक आयोजना र निर्माण व्यवसायीको चरम लापरवाहीबाट जनताहरु वेहाल

   २१ मंसिर २०७९, बुधबार १६:५९  

सर्लाही, २१ मंसिर । हुलाकी राजमार्ग निर्माण गर्ने निर्माण व्यवसायीहरुको लापरवाहीको कारण सास्ती खेप्दै आएका स्थानीय बासिन्दाहरु बुधवार विहानै देखि मलंगवा नगरपालिका ६ मुसैलीमा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको मलंगवा नगरपालिका मुसैलीमा सडक निर्माणको कार्यमा निर्माण व्यवसायीहरुले लापरवाही गर्दै आएको विरोध स्वरुप स्थानीय बासिन्दाहरु आज विहानै देखि चक्का जाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।
अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको धुलोले सास्ती खेप्दै आउका स्थानीय बासिन्दाहरुले स्थानीय प्रशासन र हुलाकी सडक आयोजना जनकपुरले निर्वाचनको समय भएको हुँदा तपाईहरु आन्दोलन नगर्न आग्रह गर्दै मंसिर २० गते भित्र काम संचालन गराउने प्रतिबद्धता जनाएका थिए । तर उक्त प्रतिबद्धताको कुनै वास्ता नगर्दा आज देखि बाध्य भएर संघर्षमा उत्रनु परेको स्थानीय सुजित यादवले तराई टप अनलाईन संग कुरा गर्दै गुनासो गरे ।
सडक संघर्ष समितिका अध्यक्ष सुजित यादवको नेतृत्वमा आज विहानै ८ बजे देखि स्थानीयहरु सडकमा टायर बालेर चक्काजाम गरिरहेका छन् । स्थानीयले पटक–पटक आवश्वास पाउँदा पनि हुलाकी सडक कालोपत्रे नभएकाले बाध्य भएर चक्काजाममा उत्रनुपरेको यादवले भने ।
राति ८ बजे सम्म चक्का जाम जारी रहने र भोली विहोन ८ बजे देखि चक्का जामलाई निरन्तरता दिनइने सुजित यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै