रोहित चम्केपछि मुम्बई सामु केकेआर घुटना टेके

   ८ आश्विन २०७७, बिहीबार ०३:२२  

रौतहट, ८ असोज । डिफेण्डिंग चैम्पीयनस मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हाँसिल गरेको छ ।
उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।
मुम्बईको कप्तान रोहित शर्माको शानदार अर्धशतकिय प्रदर्शन र बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हाँसिल गरेको हो ।
युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।
इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।
आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, जसप्रित बुमराह र राहुल चाहरले समान २÷२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए ।
त्यसअघि अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको शानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए ।
अर्धशतकबाट ३ रनले चुकेका सूर्य कुमार यादवले रोहितलाई गतिलो साथ दिए र यी दुईले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । यादवले २८ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४७ रन जोडे । कोलकाताका लागि शिवम माभीले २ विकेट लिए । सबैभन्दा महँगा बनेका कमिङ्सले ३ ओभरमा ४९ रन खर्चिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै