काठमाडौं, २८ मंसिर । तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरको ठक्करबाट घाइते भएका एक जना युवालाइ आक्रमण गरी हत्या गरेको आरोप लगाउदै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले बुधवार राजधानिमा विरोध प्रदर्शन गरिएका छन् ।
पिडित परिवारलाई न्याय दिनको लागि र दोषीलाई कारबाहीको मांग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालक लगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।
‘टिप्परले ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्ने हाम्रो निष्कर्ष हो, दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्छ,’ मृतकका दाजु नातामा पर्ने जयराम घिमिरेले भने ।
घिमिरेका अनुसार दुर्घटनास्थल भन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपर सहित चालक भागेका थिए । उनले टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्ने आफूहरुको निष्कर्ष रहेको उनले बताए ।
उक्त घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव विकलाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाएको थियो र प्रहरीले केरकार गर्दा ऊ नक्कली चालक प्रमाणित भएको पाइएको समेत घिमिरेले बताए । त्यसपछि प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको थियो । तर टिपर चालक, सहचालक लगायत कोही पनि पक्राउ परेका छैन् ।