हैदरावादलाई हराउदै मुम्बई शीर्ष स्थानमा

   ५ बैशाख २०७८, आईतवार ०८:१२  

रौतहट, ५ वैशाख । डिफेन्डिंग चैम्पीयन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसपछिको लगातार खेलमा जित हात पार्न सफल भएको हो । दोस्रो खेल जित्ने क्रममा शनिबार राति सम्पन्न भएको खेलमा सनराईजर्स हैदरावादको मुखबाट गेम खोसेर इन्डियन्सले १३ रनले जित हात पारेका छन् ।
यो जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा शिर्ष स्थानमा उक्लेको छ । मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेस्टोले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले ३–३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २–२ विकेट लिए । जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । उता हैदरावादको खराब प्रदर्शन जारी रहँदा लगातार तेस्रो हार बेहोरेको छ । हेदरावाद अंक विहीन हुँदे पुछारमा छ ।
लिगमा आज दुई खेल हुँदैछ । दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स तथा बेलुका ७ः४५ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाव किंग्स भिड्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै