नवलपुरको दाउन्नेमा बस दुर्घटना ३ को मृत्यु ३१ घाइते

   ५ बैशाख २०७८, आईतवार ०८:२४  

तराई टप संवाददाता
नवलपुर, ५ वैशाख । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा बस दुर्घटनामा घाईते भएका मध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो । सडकबाट तल भीरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले घाइतेको उद्धार गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै