रौतहट, ८ असोज । तिन दिन देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाबाट रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
गत मंगलवार देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण जिल्लाको प्रमुख नदी वागमती, लाल बकैया तथा लमहा, झाझ, चाँदी, भकुवा, अरुवा, तरहरी लगायतका विभिन्न सहायक खालाहरुमा जलस्तरमा निकै वृद्धि भएको हुँदा खोला आसपासका गाउँका बासिन्दाहरुलाई सजग भएर रहन स्थानीय प्रशासनले सुचना मार्फत सजग गराइसकेको हो । असार साउन महिनामा बर्षा र बाढीबाट त्रसित बन्नुपर्ने जिल्लाबासीलाई असोज महिनामा बाढीको पिर सताएका छन् ।
झण्डै खुक्न थालेको खोलाहरुमा निरन्तरको बर्षाबाट पानीको जलस्तर निकै माथि आईसकेको हुँदा जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय रेडियाबाट सुचनाहरु प्रवाह गर्नुका साथै प्रहरी युनिटहरुलाई अलर्ट भएर बस्न निर्देश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशीमोहन दासले जानकारी दिए ।
बर्षा संगै पुर्व तिरको वायुले गर्दा गढिमाई नगरपालिका ३ लक्ष्मिपुर टोलमा गएराति दुई वटा कच्ची घर भत्किएका छन् । स्थानीय रामजनम राउत र सत्रुघन ठाकुरको फुसको छाना भएको कच्ची दुईवटा घर भत्किएर ३ लाख बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । दुवै जनाको घरमा रहेका खाद्यान्न, लत्ताकपडा, सहित अन्य सामानहरु क्षति हुँदा उक्त मुल्य बराबरको क्षति भएको उनले स्पष्ट पारे ।
यसैगरी बर्षाले गर्दा जिल्लाको ग्रामिण भेगमा रहेका कतिपय कच्ची बाटोहरु हिलो हिलाम्मे भएर आवत जावतमा समेत कठिनाइ भएको छ । बिहान देखि बेलुकासम्म निरन्तर परिरहेको पानीले गर्दा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया सहित १८ वटै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा कामका लागि जाने सेवाग्राहीको संख्या न्यून देखिएको छ ।
यस्तै भारी बर्षाले गर्दा किसानले यो महिनामा घर भित्रयाउने भदैया खेतमै कुहिन थालेका छन् । खेतमा पानी जमेको र अविरल बर्षाको कारण अधिकांश किसानको लगाएको चौद बयालीस जातको धान पाकिसकेको भदैया धान खेतमै कुहिन सुरुभएको दुर्गा भगवतीको किसान रामलाल दासले गुनासो गरे । चैत ११ देखि लगातार लकडाउनको कारण मलखाद्यको महंगी, असारमा पानी नपरेर धानमा विभिन्न रोगको प्रकोप र अहिले बर्षाको कारण खेतमै धान कुहिने समस्याबाट किसान चौतफी मारमा परेको गुनासो उनले गरे ।