स्याङ्जा, ७ पुस । स्याङ्जाको एउटा गाउँमाबाट एक करोडभन्दा बढीको सुन्तलाको बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं. ४ का सुन्तलाबारीबाट यस वर्षमा एक करोड भन्दा बढीको सुन्तला बिक्रीगरेको हो ।
सुन्तलाबारी गाउँको २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गरेर सफल भएको सुन्तलाबारी सामुदायिक होमस्टे अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए ।
अहिले ठूलो बगैँचाको सुन्तला ठेक्का मार्फत् एक करोडको बिक्री भइसकेको छ उनले भने अब साना बगैँचाको करिब सात लाख बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।
उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी ६ देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट ठेक्का दिने गरेका छन् ।
गतवर्ष यस गाउँबाट रु ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए ।
गत वर्ष एघार हजार सुन्तलाका बोट रहे पनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो ।