बुटवल, ११ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई सीआईबीको टोलिले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबारको साँझमा प्रनाउ केसीलाई निवासबाटै पक्राउ गरिएको हो ।
केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेको छ । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबारको रमाना लिई जाने तयारीमा थिए ।
निवासमा प्रनाउ केसी भएको बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ । सुन कारोबार सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्नु भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको भनाइ छ ।
केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको थियो ।
व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।