लाल बकैया र झाझ खोलाको बाढीबाट एक दर्जन गाउँ प्रभावित, इशनाथको सोढे तिन सय घरपरिवारलाई अन्यत्र सारियो

   ९ आश्विन २०७७, शुक्रबार १३:०१  

रौतहट, ९ असोज । लगातार रुपमा भईरहेको अविरल बर्षाबाट लाल बकैया र झाझ खोलामा आएको बाढीबाट एक दर्जन भन्दा बढि गाउँका बासिन्दाहरु प्रभावित भएको छ भने इशनाथको बन्जरहाका ३५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएका छन् ।
अविरल बर्षाको कारण लाल बकैया नदीमा आएको बाढीबाट इशनाथ नगरपालिका १ बन्जरहा गाउँ डुवानमा परेको हो । सो गाउँमा २ देखि ३ फिट सम्म बाढीको पानी जम्नाले करिव ३५० घर परिवारको सदस्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मद्दतबाट सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् । नेपाल भारत सिमा नजिक पर्ने उक्त गाउँको दक्षिणमा रहेको भारतीय बाँधको कारण बर्षेणी बर्षा र बाढीको पानीबाट गाउँ डुवानमा पर्दै आइरहदा स्थानीय प्रशासन चनाखो भएर जनधनको क्षति हुन नदिन स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
राजपुर, इशनाथ, परोहा, बौधी माई नगरपालिका तर्फ जाने गण्डक नगरको माथिबाट बाढीको पानीको बहाव हुँदा शुक्रवार आवागमन अवरुद्ध भएको छ । बाढीबाट टाढा रहन सम्भावित जोखिम भएका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीय जनताहरु संग सतर्क गराउने कार्य निरन्तर रुपमा जारी रहेको उनले भने । बकैया नदीको पुर्वी बाँध दुई बर्ष अघि भत्किदा हाल सम्म नबनेको हुँदा सिमावर्ती क्षेत्र भएर गौरको भन्सार एरियामा बाढी पसेका छन् ।
सशस्त्र प्रहरीको वेस क्याम्प गौर, भन्सार सुरक्षा चौकीको परिसरमा बाढी दुई फिट भन्दा बढी जमेको हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अन्यत्र सारिएको जानकारी दिदै प्रजिअ यादवले विस्तारै पुर्वी वायुको चाप कम हुँदै गएको हुनाले भोली सम्म मौसम सफा हुने र खोलामा पानीको जलस्तर कम भएपछि बाढीको पानी बस्तीबाट नहटे सम्म नदी किनारमा नजान आम जनमास संग आग्रह गरे । बाढी र बर्षाबाट के कति क्षति भएको हो त्यस बारे विवरण संकलन कार्य भईरहेको समेत उनले जानकारी दिए ।
यस्तै झाझ खोलाको बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पचरुखी, बडहर्वा, गंगापिपरा, भलोहिया, मत्सरी, यमुनामाई गाउँपालिकाको सरुअठा, राजपुर तुल्सि, भेडियाही, जेठरहीया, माधवनारायण नगरपाकिलाको मिठुअवा, विसुनपुर्वा मानपुर, गरुडा नपाको जयनगर, राजदेवीको हजमिनिया, बसतपुर, मुडबलवा सहितका गाउँको चारै तिर बाढीको पानी जमेर धान खेत डुवानमा परेका छन् भने ग्रामिण सडकहरु बन्द भएको उक्त स्थानीय तहहरुले जनाएको छ ।
गरुडा नगरपालिकाको वडा नम्बर १ स्थित जयनगरमा सडक कटान शुरु भएको छ । वर्षासँगै झाँझ नदीमा आएको बाढीले बाटो कटान सुरु गरेको हो । बाढीले झाझ खोलमा रहेको फलामे पुलको छेउको सडकको ९० प्रतिशत भाग कटान गरिसकेको छ । सो सडक हुदै दैनिक माधोपुर, विसुनपूर्वा मानपुर, सिंगर्मन् धरमपुर, जयनगर सहित दर्जनौं गाउँका हजारौं बासिन्दाहरु जयनगरको उक्त झाँझ पुलको सडक भएर आवत जावत गर्ने गरेका छन । सम्बन्धित निकायले तत्काल उक्त सडक कटान नियन्त्रण गर्नेतर्फ ध्यान जान नसकेमा सो सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै