संक्रमणको दर बढदै जाँदा जिल्ला प्रशासन कार्यालय पर्साद्धारा कडा कमद चालियो

   ७ बैशाख २०७८, मंगलवार १६:५९  

तराई टप संवाददाता
पर्सा, ७ वैशाख । कोरोना संक्रमणको बढ्दो गतिलाई नियन्त्रण गर्नका निमित्त जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका भित्रको सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साद्धारा जारी गरिएको विज्ञप्तीमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वीरगञ्जमा वैशाख १२ गतेदेखि दुई सिफ्ट गरेर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ । महानगरपालिकाले कक्षा १ देखि ५ सम्म मूल्यांकन विधिको आधारमा कक्षा उतिर्ण गर्न भनेको भएपनि निजी शैक्षिक संस्थाले परीक्षा लिने तयारी गरिरहेका छन् ।
सिनेमाहल, पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रंगशालामा हुने दर्शक सहितको खेलकुद, मनिसहरुको भिडभाड हुने कुनैपनि कार्यक्रम बैशाख मसान्तभित्र नगर्न÷नगराउन, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थालमा जनस्वास्थ्यको मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पुजा बाहेक भिड जम्मा हुने कुनै पाठ पुजा नगर्न, मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुन, पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिइ २५ जना मात्र सहभागी हुने गरी गर्नुपर्ने सूचनामा उल्लेख छ ।
पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाईजर र मास्कको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालयमा प्रवेश गर्न नदिन, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै