वारा, १२ पुस । नेपाल भारत सिमामा खटिएका भारतीय सुरक्षा फौज एसएसबीको हराएको एसएमजी नेपाली सुरक्षाकर्मीको प्रयासबाट भारतीय भुमीमा फेला परेका छन् ।
बाराको सिम्रौनगढ क्षेत्रमा पर्ने सतुवाही नाका पुर्वी चम्पारणको अगरवा ग्राम पंचायतको कोटगावा सिमा पोष्टबाट एसएसबीको एसएमजी र ३५ राउण्ड गोली सहितको म्याग्जीन सोमवार साँझ पौने ७ बजेको समयमा हराएका थिए ।
एसएसबीको एसएमजी सहितको गोली हराएपछि हल्लिखल्लि मचेका थिए । नेपाली सीमामा तैनाथ सशस्त्र प्रहरी पनि नेपाली क्षेत्रमा निकै खोजतलास गरियो तर भेटिएन । सशस्त्र प्रहरी जवान सुनिल यादवको सुचनाको आधारमा सीमाबाट ५ सय मिटर भारतीय भुमिमा रहेका अलियास मन्सुरीको घरमा खानतलासी गरेपछि एसएमजी गोली सहित म्याग्जीन फेला पार्न सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।
मंगलवार विहान १०.५५ बजेको समयमा भारतीय नागरिक मन्सुरीको घरमा राखिएको कालो रंगको झोलाबाट एसएमजी, ३५ राउण्ड गोली भएको म्याग्जीन फेला परेको बताउदै भारतीय नागरिक मन्सुरी फरार भएको हुँदा एसएसवीले खोजी कार्य गरिरहेको बताइएको छ ।
श्रोतका अनुसार उक्त पोष्टमा डिउटीमा रहेका एसएसबी ३५ राउण्ड गोलीको म्याग्जीन लागेको एसएमजी राखेर एकछिन बाहिर निस्किदा हराएका थिए । एसएसबीको हेलचक्रयाईको कारण यस्तो घटना भएको बताइएको छ ।