इस्लामावाद, १३ पुस । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार गरेको घटनाका बिषयमा छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले खानविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ ।
गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो । घटनामा खानको दाहिने खुट्टामा गोली लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई उद्धृत गर्दै पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए ।
उनले भने, ‘जेआईटीले आक्रमणमा एकभन्दा बढी आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ । प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ । उनी जनवरी ३ सम्म हिरासतमा रहनेछन् ।’ शरीफले नावेद ‘प्रशिक्षित हत्यारा रहेको र उनी आफ्नो सहयोगी सहित घटनास्थलमा रहेको’ बताएका छन् ।