रौतहट, १३ पुस । पुस महिनाको मध्य तिर आएर रौतहट सहित मध्य तराईका जिल्लाहरुको न्यूनतम तामक्रम निकै कम भएपछि कठ्याँग्रिदो चिसोबाट समान्य जनजीवन प्रभावित भएका छन् ।
बुधवार दिउसो १२ बजेपछिको तामक्रम न्यूनतम ८ डिग्री सेल्सियसमा झरेपछि कपकपाउदो अर्थात कठ्याँग्रिदो चिसोबाट सामान्य जनजीवन प्रभावित भएका हुन् । अघिल्ला दिनहरुमा यी जिल्लाहरुको न्यूनतम तापक्रम १२÷१३ डिग्री सेल्सियस सम्म रहने गरेका थिए तर हिजो देखि निरन्तर रुपमा चलिरहेको पश्चिमा हावाको कारण रौतहट सर्लाही सहितका मध्य तराईका जिल्लाहरु चिसो अत्याधिक बढेपछि जनजीवन नराम्ररी प्रभावित हुन पुगेको बताइएको छ ।
बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झरिरहेका कारण जिल्लावासीले अत्यधिक चिसो महसुस गरिरहेका छन् । कठ्यांग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् । विद्यालय जाने विद्यार्थी पनि प्रभावित भएका छन् । शरीरमा लगाउने न्यानो कपडा र राति सुत्नका लागि न्यानो ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिएका समुदायका बस्तीमा चिसोमा कठ्यांग्रिएरै आगोको सहारामा बस्न बाध्य छन् उनीहरु ।
चिसो छल्न स्थानीयहरुले आफै जोहो गरेर घर आगनमा तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । मुटु काम्ने कठ्याँग्रिदो चिसोमा स्थानीय सरकारहरुद्धारा सर्वसाधारण एवं दलित बस्तीमा दाउरा खसाएर आगो ताप्ने व्यवस्थापन गर्दा कतिपय न्यानो कपडा एवं ओढ्ने अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुने भएको हुँदा अविलम्ब स्थानीय तहद्धारा दाउराको प्रवन्ध मिलाई आ आफना नागरिकलाई सकुशल राख्न समाजसेवी एवं जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झाले सुझाव दिए ।
चिकित्सकहरुले चिसोमा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई गाह्रो पर्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न र तरलपदार्थहरुको सेवन तथा तातो खानेकुरा प्रशस्त मात्रामा खान सुझाव दिएका छन् ।