सिरहाबाट सबा २९ लाखको भन्सार छलीका सामान सशस्त्र प्रहरीले बरामद गरे

199 Shares

सिरहा, १४ पुस । सिरहाको सीमा क्षेत्रबाट भन्सार छलेर भित्रयाइएको सबा २९ लाखको मालसामानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय एवं छिन्नमस्ता बाहिनीका अनुसार सशस्त्र प्रहरी बल नेपाल ७ नम्वर गण सिरहाबाट खटिएका विशेष टोलीले सीमापारी भारतबाट भन्सार छलेर ल्याएका सबा २९ लाख मूल्य बराबरको कपडा र अगरवत्तीको धुलो बरामद गरिएको हो ।
सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।
सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा प्रहार गर्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिए । भन्सार राजस्वलाई बढाउने तथा चोरी तस्करी नियन्त्रण कार्यमा सशस्त्र प्रहरी अहो रात्री खटेर लागि परेको हुँदा तस्करहरुको निन्द्रा हराम भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार