एमाले सहित विभिन्न दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको सरकारले दुई छिमेकी मुलुक भारत र चीन संग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
दहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना र बधाई दिएका भारत र चीनले मिलेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै दुई देशबीचको अद्वितीय सम्बन्धलाई विस्तार गर्न नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
‘नेपालमा निर्वाचनपछि नयाँ सरकार बनेको छ । नयाँ सरकारसँग काम गर्न चाहन्छौं,’ पत्रकार सम्मेलनमा उनले भने । बाग्चीले नेपालका प्रधानमन्त्री दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहेको, सांस्कृतिक र दुईपक्षीय सम्बन्धलाई पनि अझै बलियो बनाउने कुरामा जोड दिएको बताए ।
भारतका प्रधानमन्त्री मोदीले दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै ट्विटमार्फत बधाई तथा शुभकामना दिँदै दुई देशबीचको मित्रता अझ विस्तार गर्न मिलेर काम गर्न तयार रहेको बताएका थिए ।
दाहाल प्रधानमन्त्री नियुक्त भएको अर्को दिन सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार भएको बताएकी थिइन् । ‘पुरानो मित्र तथा छिमकी राष्ट्र नेपालसँग चीनको सम्बन्धले गहिरो अर्थ राख्छ ।
हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न र सहकार्य गर्न तयार छौं,’ प्रवक्ता माओले भनेकी थिइन् । उनले ‘बेल्ट एन्ड रोड कोअपरेसन’ लाई अघि बढाउने, विकास र समृद्धिसँगै दुई देशका जनतालाई लाभ पुग्नेगरी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गर्नेजस्ता विषयमा नेपाल सरकारसँग सहकार्य गर्न चाहेको बताएकी थिइन् ।