सर्लाहीको विकट बस्ती शिरबालिञ्जोरमा विजुली बल्दा स्थानीय हर्षित

153 Shares

सर्लाही, २२ पुस । सर्लाही जिल्लाको चुरे भेगमा अवस्थित शिरकालिञ्जोर विकट बस्तीमा बिजुली बलेपछि स्थानीयहरु हर्षित भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर १५ शिरकालिञ्जोर विकट बस्तीका ३५० घरधुरीका स्थानीय बासिन्दाहरु सदियौं देखि टुकी, लैम्प र लालटेनको भरमा बस्र्दै आएको बाध्यात्मक अवस्थालाई समाप्त पार्दै उक्त बस्तीमा नेपाल विद्युत प्राधिकरणले बिजुली बत्ती पुर्याएपछि स्थानीयहरु हर्षित भएका हुन् ।
बिजुली बत्ती पुगेपछि बर्षौदेखि टुकी बत्तीको साहारामा रात काट्दै आएका स्थानीय हरुका लागि अहिले खुसीको सीमा छैनन् । बिजुली बत्ती नहुँदा स्थानीयलाई मोवाईल चार्ज गर्नदेखि विजुलीबाट हुने अन्य कामहरुको निकै समस्याहरु झेल्दै आएका थिए ।
सर्लाहीको उत्तरी क्षेत्र चुरे भेगमा वसोवास गर्ने स्थानीयलाई अन्नबाली लगाउन आकाशे पानीको भर पर्नुपरेको तथा अन्य कुनै विकल्प थिएनन् । बस्तीको तल्लो भाग भएर कालिन्जोर खोला बग्ने भए पनि उनीहरुले बिजुली बत्ती नभएकै कारण त्यहाँको पानीको लाभ लिन सकेको अवस्था थिएनन् ।
अब बिजुली पुगेसँगै खोलाको पानी पम्पिङ गरेर खेती गर्ने स्थानीयको योजना छ । हालै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बल र नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर त्यहाँ विद्युत् सेवाको शुभारम्भ गरेका थिए ।
गाउँमा बिजुली आएपछि हर्षित भएका स्थानीयले नगरप्रमुख अधिकारी, वडाध्यक्ष बल र वितरण केन्द्र प्रमुख साह सहितका व्यक्तिलाई खादा, अविर र माला लगाएर स्वागत गरेका थिए । विद्युत् विस्तारपछि झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएको वडाध्यक्ष बलले बताए ।
गत आर्थिक वर्षको प्रारम्भ देखिनै विद्युत विस्तारको काम थालिएको वडाध्यक्ष बलले बताए । उनले भौगोलिक विकटताको कारण वडाका सवै क्षेत्रमा अझै पनि विद्युत विस्तार हुन नसकेको जानकारी दिए । बाहुनी डाँडा, फलाके, धापखर्क, माझखोला क्षेत्रमा विद्युत विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले भने ।
लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बिकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्यहाँ पुग्नै झण्डै दुई घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भने चुनौती रहेको बताए । उनले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए । केही दिनअघि लालबन्दी नगरपालिका १४ नारायण खोलास्थित डाइनी खोलामा पनि पहिलो पटक बिजुली बत्ती पुर्याइएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार