नेपालमा पछिल्लो २४ घण्टामा २३५१ कोरोना संक्रमित

तराई टप संवाददाता
रौतहट, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८९ हजार ९१८ पुगेको छ । पछिल्ला २४ घण्टामा २८७ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९५.३ प्रतिशत छ ।