अत्याधिक चिसोबाट रौतहटमा १ बृद्धको मृत्यु, २६ गते सम्म विद्यालय बन्द

   २३ पुष २०७९, शनिबार १८:४७  

रौतहट, २३ पुस । अत्याधिक चिसोमा कठ्याग्रिएर रौतहटमा एक वृद्ध व्यक्तिको मृत्यु भएको छ ।
मध्य पुसबाट सुरु भएको चिसोको कहर खेप्न नसकेर रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनवा फतुवा टोलका ७० बर्षिय वृद्ध लालमहम्द मियाँ कवारीको कठ्याग्रिएर मृत्यु भएको हो ।
कवारी शुक्रवार (जुम्मा) को नमाज पढेर घर फर्किने क्रममा कठ्याग्रिएर बाटोमा ढलेर अचेत भएपछि उपचारको लागि स्थानिय स्वास्क्ष्य चौकीमा लगिने क्रममा उनको मृत्यु भएको निजको छोरा कलाम मियाँ मन्सुरीले बताए ।
निरन्तर रुपमा चलिरहेको पश्चिमा हावाको कारण न्यूनतम ताममान निकै घटेको छ । चार दिन देखि घाम पनि लाग्न सकेको छैनन । विहानै देखि बाक्लो हुस्सु र शितलहरबाट रौतहट जिल्लामा अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकी, उच्च रक्तचाप, मधुमेहका विरामी सहित बालबालिकाहरु सबै भन्दा बढि प्रभावित भएका छन् ।
चिसोबाट स्थानीयहरु सचेत भएर घरमै बस्न तथा न्यानो लुगा भित्रै रहन तथा अत्यावश्यक भएमा मात्रै घरबाहिर निस्कन स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएका छन् ।
पुस २६ गते सम्म सामुदायिक विद्यालय बन्द
यसै विच रौतहटको प्राय स्थानीय तहले अत्याधिक जाडोका कारण अगामी पुस २६ गते सम्म विद्यालयहरु बन्द गरेका छन् । कक्षा कोठाहरु चिसिदै गएपछि स्कुले बालबालिकाहरुलाई जोगाउन गरुडा, गढीमाई, गौर, राजदेवी, राजपुर, इशनाथ, बौधीमाई, वृन्दावन, देवाही गोनाही, कटहरिया, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकाले बर्षे विदाबाट कट्टा हने गरी अगामी २६ गते सम्म विद्यालय बन्द राख्ने मातहतका सम्पूर्ण सामुदायिक स्कुललाई सर्कुलर जारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै